प्रधानमन्त्री, बालेन, ओली, प्रचण्ड लगायतका नेताहरु द्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बईको वानखेडे स्टेडियममा आईसीसी टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेल खेल्दैछ । उक्त अवसरमा प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्रीले आज वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यो स्वर विश्वभर फैलिने उल्लेख गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाइरहेको नेपालले यसअघि देखाएका ऐतिहासिक प्रदर्शन र सफलताले टोलीको मनोबल उच्च रहेको प्रधानमन्त्रीको भनाइ छ । साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उल्लेख गरेकी छन् ।
आज इंग्ल्यान्डसँग हुन गइरहेको ऐतिहासिक खेलअघि प्रधानमन्त्रीले सम्पूर्ण राष्ट्रको तर्फबाट नेपाली टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दै विजयको कामना गरेकी छन् ।

त्यसतै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।
बालेनले सामाजिक सञ्जालमा नेपालले पहिलोपटक सन् २०१४ मा खेलेको विश्वकपको स्मरण गराउँदै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको तारिफसहित टोलीलाई जितको शुभकामना दिएका हुन् ।
‘क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ । क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौँ । उहाँकै अनुभव र भिजनअनुसार अब नेपालको क्रिकेट अगाडि बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल अनुशासन र क्षमतालाई क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ’, बालेनले लेखेका छन् ।
यसैगरी सिंगो देश नेपाली राष्ट्रिय क्रिकेट टोलीको साथमा रहेको समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यसैगरि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको दाबी गरेका छन् । टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई भिडियोमार्फत शुभकामना दिँदै ओलीले क्रिकेट एउटा खेल मात्रै नभैइ, नेपालको लागि प्रगतिको पहिचान र स्वाभिमान पनि भएको बताएका छन् ।
उनले भनेका छन्, ‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन् । खेलाडी हरुको मेहनत र पसिनाका लागि हामी रंगशाला जस्तै पूर्वाधार निर्माण गरेर तिर्नुपर्छ, सहयोग पुर्याउनुपर्छ ।’
ओलीले रोहित पौडेल नेतृत्वको नेपाली टोलीले देशको शिर उच्च राख्ने विश्वास व्यक्त गरे । मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका नेपालीहरूको समेत साथ रहेको बताए । उनले भनेका छन्,‘तपाईंहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ, हामी तपाईंहरूका साथमा छौँ। विपक्षी जतिसुकै बलियो होस्, तपाईँहरूले विपक्षीको हिसाब गर्ने होइन, आफूमा कुनै प्रकारको हीनताबोधी ग्रन्थ पलाउन दिने होइन,नेपाली युवाको रगत र आत्मविश्वास तपाईंहरुसँग छ। उचाई चढ्दै गरेको श्रृखला तपाईंहरुको साथमा छ।’
अध्यक्ष ओलीले नेपालले यसपटक नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गरे । उनले भने,‘प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ र नेपालको शिर ठाडो बनाउनेछ ।’ हार जित खेलको पाटो भए पनि जित्ने उद्देश्यका साथ मैदान उत्रिनुपर्नेमा उनले जोड दिए ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि जारी आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले सम्पूर्ण नेपालीलाई गर्व अनुभूति गराएको उल्लेख गरे ।
उनले हरेक बल, हरेक रन र हरेक विकेटमा सम्पूर्ण नेपाल नेपाली टिमसँगै रहेको भन्दै खेलमा विजयको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।


