निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुन्छ: भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकि नराख्ने बताएका छन् ।
शुक्रबार राजनीतिक दलहरुसँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफलमा बोल्दै उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह गरे ।
उनले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेदवारहरुलाई आग्रह गरे । निर्वाचन आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने उनको विश्वास छ।
उनले भने, ‘नाजायज तरिकाले निर्वाचन आयोगले कुन पनि आचार संहिता बनाउँदैन । कानूनको लक्ष्मण रेखाभित्र रहेर कानूनलाई परिपालन गराउने सन्दर्भमा आचारसंहिता परिपालन गराउने सन्दर्भमा कुनैपनि कसर बाँकि राख्दैन भन्ने कुरा यहाँहरुले विश्वास गर्नुभएकै छ । मैले धेरै व्याख्यात्मक रुपमा उहाँहरुलाई केही भनिन । राम्रोसँग अनुशासित तरिकाले कानूनलाई परिपालन गरिदिनुस् । र खर्च गर्न पाउने त्यो सीमा कति हो, त्यो सीमा भित्र पनि रहिदिनुहोस । किनभने हामीले खर्च पनि निर्धारण गरिसकेका छौँ । खर्च गर्न पाउनेआधार पनि हामीले तोकिदिएका छौ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न गर्न सहयोग गरिदिनुस् ।’
भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी दिए ।



