कलाकारिताले मलाई डिप्रेसनबाट जोगायो: मञ्जु श्रेष्ठ (पोडकास्ट)
'पारिश्रमिक लिन थुप्रै छ, माग्दा पनि नदिँदा मन दुख्छ'
काठमाडौं । नेपाली चलचित्र, टेलिसिरियल र नाटकको संसारमा आफ्नै पहिचान बनाइसकेकी कलाकार हुन्– मञ्जु श्रेष्ठ । अभिनयलाई केवल पेसा होइन, जीवनकै साधना ठान्ने उनी दर्शकका लागि परिचित अनुहार मात्र होइन, कथाभित्रको संवेदना बनेर प्रस्तुत हुने कलाकार हुन् ।
विगत ३० वर्ष देखि कलाकारिता क्षेत्रमा सक्रिय मञ्जु श्रेष्ठको अभिनय यात्राको विशेषता भनेकै विविधता हो । नाटकबाट अभिनयको आधार तयार पारेकी उनले टेलिसिरियल र चलचित्रमा पनि आफूलाई स्थापित गरिन् । अहिले पनि उनी थुप्रै सिरियलमा व्यस्त छिन् ।
उनले निर्वाह गरेका पात्रहरू जीवनसँग नजिक छन् । आमा र बुहारीको पीडा, नारीको सङ्घर्ष, समाजले बनाएको सीमाभित्रको मौन विद्रोह वा कहिलेकाहीँ हल्का कमेडी—हरेक भूमिकामा मञ्जुको अभिनय स्वाभाविक देखिन्छ । उनी अभिनयमा चर्को रूपमा प्रस्तुति भन्दा पनि सजीवता र यथार्थ खोज्छिन्, जसले दर्शकलाई कथासँग जोडिदिन्छ ।
कलाकारको यात्रा सधैँ सजिलो हुँदैन । कथामा जब लामो–लामो डाइलग आउँछ त्यस बेला मञ्जु लाई सम्झन्छन् । उनी जति लामो डाइलग दिए पनि सजिलै अभिनयका साथ प्रस्तुति दिन्छिन् । अभिनय केवल संवाद बोल्नु मात्र होइन । त्यो पात्रको मनोविज्ञान बुझ्ने प्रक्रिया हो । त्यसैले उनी स्क्रिप्ट अध्ययन, पात्रको पृष्ठभूमि र निर्देशकसँगको संवादलाई विशेष महत्त्व दिन्छिन् । यही पेसागत गम्भीरताले मञ्जुलाई लामो समयदेखि दर्शकले सम्झनामा राखेका छन् ।
आज मञ्जु श्रेष्ठ नयाँ पुस्ताका कलाकारका लागि प्रेरणाको नाम बनेकी छन् । चमकभन्दा निरन्तरतामा विश्वास गर्ने, लोकप्रियताभन्दा कामको गुणस्तरमा केन्द्रित रहने उनको सोचले नेपाली अभिनय क्षेत्रलाई अझै समृद्ध बनाइरहेको छ ।
मञ्चदेखि पर्दासम्मको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन, यो नेपाली कला क्षेत्रप्रतिको समर्पणको उदाहरण पनि हो ।

रिलमा छुच्ची, रियलमा दयालु मञ्जु
तितो सत्य होस या छुच्ची सासु । उनका अभिनय प्राय छुच्चीका रूपमा देखिन्छन् । उनलाई छुच्ची शब्दले छाडेको छैन । तर, उनी वास्तविक जीवनमा भने छुच्ची छैनन् । उनी भन्छिन्, ‘वास्तवमा म छुच्ची छैन । हरेक मानिसलाई समय र परिस्थितिले छुच्ची बनाउँछ । अनुहार मेरो घमन्ड देखिन्छ । मानिसहरू म सँग नबोलुन्जेल घमन्डी भनेर बोल्न डराउँछन् । तर बोले पछि सबैले मेरो व्यवहारलाई छुच्ची भन्दैनन् । आफ्नो बारेमा नराम्रो गर्दा, कसैले कुट्न आए भने सहेर बस्ने कुरा हुँदैन । त्यहाँ छुच्ची बन्नै पर्छ ।’
उनले आँफु नेचर रूपमा छुच्ची नभएकी बताइन् । उनलाई मिस्टर फन्टुसमा छुच्चीको रूपमा छिमेकीसँग झगडा गर्ने रोल भएकाले छुच्चीका रूपमा चिनाएको थियो ।
अधिकृत बन्ने सपना भएन पुरा
पढेर अधिकृत बनी गायनलाई निरन्तरता दिने सपना बोकेकी मञ्जु श्रेष्ठको जीवनीमा दुर्घटना भयो । जसले गर्दा उनलाई अभिनयमा मोडिदियो । उनी म्युजिक सिक्न गएको ठाउँमा अभिनय कक्षा पनि थियो । म्युजिक सिक्न गएकी मञ्जुलाई मुकुन्द किशोर भट्टराई (शिक्षक)ले अभिनय सिक्न कक्षामा पठाइ दिए । बोल्न डराउने उनी अभिनय सिक्न कक्षामा गइन् ।
कक्षामा एक दिन उनलाई शिक्षकले घोक्रे ठ्याक लगाएर अब अभिनय सिक भने । त्यसपछि उनको अभिनय सुरु भयो । कक्षामा अरूले स्क्रिप्ट कण्ठ गर्न र बोल्न धेरै समय लगाउँथे तर उनलाई एक पटक सुनेपछि कण्ठै हुन्थ्यो । अभिनय सिक्न कक्षामा गएकी मञ्जुले ५ दिन पछि कक्षामा अभिनय सिक्न आउनेहरूलाई अभिनय सिकाउन थालिन् ।
उठ् पट्याङ रोल गर्न मन छ
मेले लाइफमै हुँदै नभएको रोल पनि गरेको छु । धेरै रोल गरिसकेँ, अब चन्चले पाराको अरूलाई मिठो सताउने रोल गर्न मन छ । राजाराम गौतमको जस्तो । तर, बाहाँकै जत्तिको चाहिँ हैन । वहाँ भएको ठाउँमा कहिल्यै बोरिङ हुँदैन । हेर्दा उठ् पट्याङ, अब के गर्छ ? के गर्छ ? भन्ने पाराको छुस्कि रोल गर्न रहर छ ।
पारिवारिक कारण डिप्रेसनमा थिएँ
घरमा मेरो बुवा आमाको सधैँ कलह हुन्थ्यो । कलह ठुलो हैन । सामान्य कुरामा हुन्थ्यो । मेरै कारणले भएको हो कि भनेर मलाई काठमाडौं छाड्न मन लागेको थियो । बुढा र बुढी मात्र भएत के को झगडा गर्छन् र ? बाहाँहरूको झगडाको कारण म पो थिँएकि भन्ने मलाइ पर्यो । म भइन भने घरमा झगडा हुँदैन भन्ने मलाई लागेको थियो । म घरमा नभए को सँग झगडा गर्ने ? भन्ने सोचेको थिएँ । मैले काठमाडौं छाड्ने निर्णय गरेँ र म पोखरा गएँ । ६ महिनाको लागि पोखरा गएको म १ वर्ष बसेँ ।
म सामान्य डिप्रेसनमा थिएँ । डिप्रेसन भनेको कसैबाट धोका पाएर वा अरू त्यस्तो कुनै कारण थिएन । सामान्य रूपमा परिवारको कारण डिप्रेसनमा परेको थिएँ । मलाई मंगलबार, सोमबार, शनिबार र बिहीबार डाक्को छोडेर रुन मन लाग्थ्यो । आवाज बाहिर नजाओस् भनेर ट्वाइलेट र कोठामा ढोका थुनेर डाक्को छोडेर रुन्थेँ । रोइ–रोइ मैले डिप्रेसनलाई कम गरेको हुँ ।

पहिलो पारिश्रमिक चार सय थियो तर लिइन
मञ्जु श्रेष्ठको पहिलो पारिश्रमिक चार सय थियो तर उनले लिइनन् । उनले आईए पढ्दा गरेको गरेको अभिनयमा उनका डाइरेक्टर (शिक्षकले) उनलाई अंग्रेजी पढाइदिएका कारण उनले उक्त अभिनयको पारिश्रमिक लिइनन् । उनी भन्छिन्, ‘त्यो चार सय पारिश्रमिक भन्दा मलाइ चार लाख भन्दा बढी पर्ने शिक्षा दिनुभयो सरले । त्यसैले मैले पहिलो पारिश्रमिक लिइन ।
पारिश्रमिक लिन थुप्रै छ
श्रेष्ठले यो इंडस्ट्रीमा थुर्पै सँग पारिश्रमिक लिन बाँकी रहेको बताइन् । उनले भनिन्, ‘एउटा ग्रुप र रिलेसनका कारण काम गरिन्छ । नदिने नियत बाहाँहरूको हैन होला । तर, सारो गाह्रो पर्दा पारिश्रमिक माग्दा खुरुक्क दिए हाम्रो पनि काम टर्थ्यो । हामीले वहाँहरूसँग सापटी मागेको पनि हैन । पारिश्रमिक माग्दा पनि दिन गाह्रो हुन्छ बाहाँहरूलाई । यसले गर्दा मन दुख्छ ।’
श्रेष्ठका जीवनी र यहाँसम्मको यात्राको बारेमा जान्न नागरिक प्रेसका लागि स्नेहा कटवासँगको ‘गफगाफ विथ स्नेहा’ हेर्नुस्–



