नयाँ वर्षबाट गायिका कटवालको ‘गफगाफ विथ स्नेहा’ आउने
काठमाडौं । नयाँ वर्ष २०२६ अर्थात् जनवरी १ (बिहीबार)बाट कलाकारका कथा, संघर्स र जीवनका अनेक पक्ष उजागर गर्ने उद्देश्यसहित ‘गफगाफ विथ स्नेहा’ नामक ‘पोडकास्ट’ कार्यक्रम प्रसारणमा आउने भएको छ ।
गायीका स्नेहा कटवाल प्रस्तोता रहेको यस कार्यक्रममा नेपाली कलाकारहरूका संघर्षका दिन, सफलताको यात्रा, व्यक्तिगत अनुभव, जीवनका उतारचढाव र पर्दा पछाडिका कथा प्रस्तुत गरिने छ ।
कटवालका अनुसार मनोरञ्जनसँगै प्रेरणालाई केन्द्रमा राखिएको यस कार्यक्रमले कलाकारलाई केवल पर्दामा देखिने व्यक्तिका रूपमा मात्र नभई मानव जीवनका वास्तविक पात्रका रूपमा चिनाउने प्रयास गर्ने छ ।
प्रस्तोता कटवाल भन्छिन्, ‘यो पोडकास्ट गफगाफ मात्र होइन, कलाकारको जीवन बुझ्ने एउटा सशक्त माध्यम हो । यस कार्यक्रम मार्फत नयाँ वर्षमा नागरिकप्रेसडटकम मार्फत दर्शक–श्रोताले केही फरक, केही साँचो र केही प्रेरणादायी कथा सुन्न, हेर्न र पढ्न पाउने छन् ।’
उनले ‘गफगाफ विथ स्नेहा’ नागरिक ई प्रेस प्रालिले सञ्चालन गरेको www.nagarikpress.com मा नयाँ वर्ष बाट हरेक बिहीबार आउने बताइन् । उनका अनुसार यो कार्यक्रम नागरिक प्रेसको सामाजिक सञ्जालमा पनि हेर्न, सुन्न र पढ्न पाइने छ ।
शिक्षक पेसाबाट आफ्नो करियर सुरु गरेकी कटवालका विभिन्न गीतहरु बजारमा आइसकेका छन् । उनी अहिले विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त छिन् । गायीका कटवाल अभिनयमा पनि उत्तिकै सक्रिय छिन् । उनले विभिन्न टेलिसिरियलहरु, छुच्ची सासु, बुहारी र ज्वाइसाप लगायतमा काम गर्दै आएकी छिन् ।
उनले नयाँ वर्षबाट आउने ‘गफगाफ विथ स्नेहा’ विशेष भएकाले हर्न नछुटाउन सबैलाई आग्रह गरिन् । नेपालमा पछिल्लो समय पोडकास्टको लोकप्रियता बढ्दो छ । यस पोडकास्टले नेपाली कला, कलाकार र सिर्जनालाई अझ नजिकबाट बुझ्ने अवसर दिने अपेक्षा गरिएको छ ।


