वर्षाले कृषिमा २ अर्ब ९१ करोडको क्षति, ७ प्रतिशत धान उत्पादन घट्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । गत कार्तिक १५, १६ र १७ गते आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिब २ अर्व ९१ करोड बराबरको क्षति भएको अध्ययनले देखाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार पारेको स्थलगत अध्ययनले सबैभन्दा बढी क्षति धान बालीमा भएको देखाएको छ । त्यसपछि तरकारी र केराबालीमा क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिए ।

जोशीले भने, ‘वर्षाका कारण कृषि क्षेत्रमा करिब २ अर्ब ९१ करोड बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा देखिन्छ । वर्षाले पाक्नका लागि तयार भएको धानबालीलाई सबैभन्दा बढी क्षति पुर्‍याएको छ । त्यसपछि तरकारी, आलु, केराबारीमा यसले क्षति पुर्‍याएको देखिन्छ । यो क्षति विशेष गरेर कोशी प्रदेशमा बढी देखिएको छ । त्यसपश्चात मधेस, वागमती र गण्डकी प्रदेशमा क्षति भएको देखिन्छ । कोशी प्रदेशमा विशेषगरी झापा जिल्लामा धान बालीमा बढी क्षति देखिन्छ भने समग्रतामा हेर्दा करिब २० हजार हेक्टर धानबालीमा यो वर्षाका कारण क्षति भएको देखिन्छ ।’

विपद्का कारण चालु आर्थिक वर्षमा करिब ५ देखि ७ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको छ । मधेसमा तरकारी बालीको उत्पादन घट्ने पनि अध्ययनले देखाएको जोशीले बताए ।

जोशीले भने, ‘यस वर्ष धानबालीको उत्पादन मधेसमा भएको सुख्खा, र यो अविरल वर्षाले पुर्‍याएको क्षतिका कारण करिब ५ देखि ७ प्रतिशत धान उत्पादन घटने हामीले प्रारम्भिक अनुमान गरेका छौँ । त्यसैगरी तरकारीको उत्पादन पनि केही घटने अनुमान गरिएको छ । तरकारीको उत्पादन विशेष गरी मधेस प्रदेशमा घट्ने अनुमान गरिएको छ । जहाँ तरकारीबालीमा बढि क्षति भएको हामीले विवरण प्राप्त गरेका छौँ ।’

अध्ययनमा विपतबाट हुने क्षति न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रममा जोड दिन प्रदेश तथा स्थानीय सरकारलाई सचेत गराइएको छ । मौसम सम्बन्धि जानकारी लिने र त्यसबारे कृषकहरुको घरघरमा जानकारी गराउने काममा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने कुरा पनि प्रतिवेदनले औँल्याएको छ ।

जोशीले भने, ‘नेपाल सरकारले प्राथमिकता दिएको कृषि बीमा कार्यक्रमका कृषकहरु जोडिन आवश्यक देखिन्छ भने दातृ निकायहरुले पनि विपदबाट क्षति पुगेका कृषकहरुलाई राहत तथा पुनस्र्थापनाको काम गर्न सकियो भने किसानका पीरमर्का सम्बोधन हुने सम्भावना देखिन्छ ।’

प्रतिवेदनमा राहत तथा पुनःस्थापनाका लागि कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएको छ । बीमामा जोडिन पनि कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ । जोशीले दातृ निकायहरुले विपदमा परेका कृषकहरुलाई राहत दिनसके उनीहरुको पीडा सम्बोधन हुने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको बताए।

अध्ययनले कात्तिकको वर्षाले धान बालीमा मात्र २ अर्ब ६६ करोड ४१ लाखको नोक्सानी गरायो । देशभर २० हजार १.५२ हेक्टरमा लगाइएको ७५ हजार ६७४ मेट्रिक टन धान नष्ट वा प्रभावित भयो । यसले यस वर्षको धान उत्पादन ५ देखि ७ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । प्रदेशहरुमध्ये कोशी सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ २ अर्ब ५ करोडभन्दा बढीको क्षति भएको अध्ययनले देखाएको छ ।

यस्तै मधेशमा (२२ करोड ७६ लाख) र लुम्बिनीमा (१३ करोड ६८ लाख) बराबरको क्षति भएको अध्ययनले देखाएको छ । जिल्लातर्फ झापामा सबैभन्दा धेरै ८० करोड ७३ लाख, मोरङमा ५८ करोड ७८ लाख र सुनसरीमा ४५ करोड ३१ लाखको धानबाली क्षति भएको अध्ययनले देखाएको छ । धानबाहेक ५८६ हेक्टर तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख र अन्य नगदे बालीमा २ करोड ४१ लाखको क्षति भएको छ । तरकारीको लागि पकेट क्षेत्र मानिएको सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगाएतका जिल्ला बढी प्रभावित भएको पाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *