एनपीएलमा अवैध सट्टेबाजी गर्ने १० जना पक्राउ, २ करोड माथिको कारोबार
काठमाडौं । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको बताएको छ । काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।
प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ गरिएको जानकारी दिए । अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिव २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
उनले भने, ‘एनपीएल चलिरहेको अवस्थामा अनलाइन बेटिङमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा, अगुवाइमा र हामीले हाम्रो साथमा जम्मा दश जना व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भइराखेको अवस्था छ । २ वटा ग्रुपमा गरेर । करिव, करिव २ करोड ५ लाखको ट्रान्ज्याक्सन भएको वालेटहरुमा ट्रान्ज्याक्सन भएको देखिन्छ । केन्द्रीय इन्भेस्टिगेसनकै क्रममा हाम्रो कस्टडिमै छ अहिले र यसमा स्टेक डडकम, बेडबुक डटकम जस्ता वेबसाइटहरु वेटिङका लागि प्रयोग भएका छन् र यसैसित रिलेटेड अन्य एप्लिकेसनहरु पनि बेटिङ्को रुपमा इन्भल्ब भएको जानकारी गराउँछु ।’
नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।


