अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ न कसैको लगानी : मीनबहादुर गुरुङ
काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार कर दिवको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताए । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट उनले व्यक्त गरे ।
उनले भने, ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपुलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो ।’
उनले भाटभटेनी जल्दा दशैँ,तिहार, छठ आउँदै गरेकाले ठूलो स्टक गरिरएको तर त्यो सबै जलेर नस्ट भएको बताए । यो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत नहारेको उनले बताए ।
उनले भने, ‘म अघि बढ्छु, कारण के भने म मा जिम्मेवारी छ, बैंकको लगानी छ, मसँग आवद्ध हजारौँ भाइबहिनी हुनुहुन्छ, त्यो भन्दा ठूलो मेरो देश छ । हामी अलि विपन्न भएको कारणले नै यो विभिन्न समयमा आन्दोलन भइरहेको हो । आन्दोलन हुनुको पछि हाम्रो जिम्मेवारी नहुनु पनि होला । हामी जिम्मेवार भएर देश विकासमा लाग्नुपर्छ । हाम्रो घर कमजोर भयो भने वल्लो घर, पल्लो घरकाले आएर राज गर्न थाल्छन् । जुन घटना भयो यो, १२ वटा भाटभटेनी सखाप नै भए । अरु धेरैमा लुटपाट भए । अब यस्तो घटना हुँदैन होला र सबैले वोध गर्दछन् भन्ने विश्वास छ । भाटभटेनिमाथि किन आक्रमण भयो भन्दा कुनै पार्टीलाई भवन बनाइदिने भयो भनेर रे । भाटभटेनीको मूल आफ्नो ट्याक्स पे गरिसकेपछिको पैसा उसले दान गर्न चाहन्छ, त्यही भएर डा. भगवान कोईरालाको नेतृत्वमा बनेको बाल अस्पताल हामीले यही मंसिरमा उद्घाटन गरेर बालबालिका राख्ने सोचमा थियौँ, आन्दोलनले केही ढिला भयो । नेपालमा करोडौँ दिनेकुरा नौलो कुरा हो । विभिन्न जिल्लाका विपन्न व्यक्तिहरुका बालबालिकालाई मैले एमबीबिएस पढाएको छु । टिचिङ अस्पतालमा पनि राम्रै सहयोग गरेका छौँ । भवन बनाइदिएका छौँ । अहिले पार्टीलाई भवन बनाइदियो भन्ने छ । मेरो आफ्नो पर्सनल कुरा हो । सबै पार्टीलाई तपाईंहरु सुध्रिनुस् हामी सहयोग गर्छौं भनेको छु । मूल कुरा पार्टी जस्तो लागेको थियो, अहिले अब जेनजी रहेछ । १० जनासँग किन माग्नु म एक्लैले दिइहाल्छु नि भनेर दिएको हो । त्यसका खातिर यो भोग्नुपर्यो । मैले उहाँहरुसँग लिने होइन, दिने मात्रै हो ।’
उgले व्यवसायीहरुले सानो मन गर्न नहुने बताए । उनले आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिनसकेको बताउँदै अरुले पनि त्यसैगरी दिनसक्ने बताए ।
