ऊर्जामन्त्रीले सरकारी सुविधा नलिने, तलब-भत्ता शहीद कोषलाई दिने

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै उनले आफू कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो नाममा हुने तलब तथा भत्ता शहीदहरूको सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
मन्त्री घिसिङले सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै पनि सुविधा नलिने स्पष्ट पारे । उनले भने, ‘राजनीतिक जिम्मेवारी सेवाभावका साथ निर्वाह गर्न आएको हुँ, सुविधाका लागि होइन । त्यसैले तलबभत्ता समेत शहीदहरूको सहयोग कोषमा दिने निर्णय गरेको छु ।‘
पदभार ग्रहण भाषणमा मन्त्री घिसिङले भ्रष्टाचारविरुद्ध दृढ अडान व्यक्त गरे । उनले भने, ‘शून्य सहनशीलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मात्र होइन, यसलाई निर्मूल गर्नुपर्छ । अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही हुन्छ । भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।‘
उनले पारदर्शितामा कुनै प्रश्न उठेमा आफूलाई सिधै सम्पर्क गर्न सबैलाई आग्रह गरे ।