महिला क्रिकेट : चीनमाथि नेपालको जित
काठमाडौं । मलेसियामा जारी एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको चीन पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०६ रनमा समेटिएको हो । चीनका लागि कप्तान जु मिजुले सर्वाधिक ३० रन जोडे भने वाङ हुइवाङले २१ रन थपे ।
चीनलाई सस्तैमा समेट्न नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा पूजा महतो, मनिषा उपाध्याय र कविता कुँवरले एकएक विकेट लिए ।
पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले अर्धशतक बनाइन् । महतोले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ६३ रन बनाइन् । रुबी पोदारले नटआउट २२ रन जोड्दा सोनी पाख्रिनले १८ रन थपिन् ।
चीनका लागि कसिलो बलिङ गर्दै मा रुइकेले दुई विकेट हात पार्दा वाङ हुईइङ र ली ली च्याफिङले एकएक विकेट हात पारे ।
एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्ने छ । समूह ‘बी’का नेपाल र चीनले दुई दुई अंक जोडेका छन् भने इन्डोनेसिया अंकबिहीन छ ।
समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । समूह ‘ए’को थाइल्यान्डले चार अंक जोड्दा मलेसिया र हङकङ अंकबिहीन छन् । दुवै समूहका शीर्ष दुई टोली छनोटको सेमिफाइनल पुग्ने छन् ।
सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्ने छन् भने पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका शीर्ष तीन टिम एसियाली खेलकुदका लागि छनोट हुने छन् ।


