सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै आर्मीले जित्यो पीएम कप क्रिकेटको उपाधि
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
योसँगै आर्मी तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि चुम्न सफल भएको हो । यसअघि सन् २०१७ मा भएको पहिलो संस्करणमा पुलिससँग संयुक्त विजेता बनेको आर्मीले सन् २०२१ मा चौथो संस्करणको उपाधि जितेको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रनको सामान्य योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि अशोक धामीले ४६ बलमा ४३ र किरण ठगुन्नाले ४२ बलमा ३५ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका बलर आकाश चन्द र शाहब आलमले घातक बलिङ गरे । चन्दले ९ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिनुभयो भने आलमले १० ओभरमा समान ३ विकेट हात पारे ।
१६२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । आर्मीको जितमा इमान शेखले ८२ बलमा अविजित ४६ रनको धैर्यपूर्ण इनिङ खेले । यस्तै, बसीर अहमदले ५६ बलमा ४५ रनको योगदान दिए ।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ र अशोक धामीले १ विकेट लिए । खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्नुभएका आर्मीका बसीर अहमद ‘प्लेयर अफ द म्याच’ बने । उनले ब्याटिङमा ४५ रन बनाउनुका साथै बलिङमा ७.१ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए ।


