११ वर्षीय बालिकामाथि यौन हिंसाको प्रयास गर्ने इस्माइल मिया पक्राउ
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा-१ मा ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधबैँसे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
परिवारका अनुसार बिहान करिब ११ बजेको समयमा पीडित बालिका (परिवर्तित नाम : रिमा) पसलको पुरानो बाँकी रकम तिर्न गएकी थिइन् । सोही मौका छोपी मियाले बालिकालाई पसलभित्र लगी मोबाइलमा अश्लिल भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेका थिए । ५० वर्षका मियाले नातिनी उमेरकी बालिकामाथि गरेको यो हर्कतले स्थानीयलाई स्तब्ध बनाएको छ ।
अपराधीको हातै टोकेर भागिन्
आफूमाथि जबरजस्ती गर्न खोजेपछि ती बालिकाले अदम्य साहस प्रदर्शन गरेकी थिइन् । उनले अभियुक्त मियाको हातमा दाँतले जोडले टोकेर उसको चङ्गुलबाट उम्कन सफल भएकी थिइन् । अपराधीको पन्जाबाट उम्किएर घर पुगेकी बालिकाले रुँदै परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन् ।
घटनापछि आक्रोशित बनेका आफन्त र स्थानीय बासिन्दा पसलमा पुग्दा मिया पसल बन्द गरी फरार भइसकेका थिए । पीडित परिवारले वडा प्रहरी कार्यालय बिर्तामा लिखित निवेदन दिए लगत्तै प्रहरीले सक्रियता बढाएको थियो । लुकिछिपी बसेको अवस्थामा मियालाई छपकैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका मियामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नवबालिकामाथि भएको यस जघन्य अपराधको प्रयासलाई लिएर वीरगन्जवासीले कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।


