नेपाल आउने पर्यटकले धमाधम होटेल र ट्राभल बुकिङ रद्ध गर्दै
No ads found for this position
No ads found for this position
पोखरा । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ ।
मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाहरूले बताएका छन् ।
खास गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरूको भनाइ छ ।
पोखरा आउने पर्यटकहरूले धमाधम होटेल, ट्राभल र ट्रेकिङ बुकिङ रुद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले बताए । उनले मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरू आउन नसकेको बताए । उनले युद्ध लम्बिँदा व्यवसायी समेत समस्या पर्दै गएको गुनासो गरे ।
उनले भने, ‘मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित भएको छ । धेरैजसो पर्यटकहरू मिडिल इस्टको युद्धका कारण जताबाट आउनुभएको छ उतै डाइभर्ट हुने समस्या भएको छ । युद्धको कारण ग्याँस र इन्धन अभावले हामीले पनि समस्यामा पर्दै गएका छौँ ।’
होटेल एसोसिएसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठुलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरू नआएको बताए । उनले मध्यपूर्वमा जारी युद्धका कारण विदेशी पर्यटक नेपाल भित्रिन नसकेको बताए । अमेरिकाले अति आवश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको एड्भाइजरीका कारण पर्यटक आगमन खस्केको उनको भनाइ छ । उनले युरोप र अमेरिका बाहेक भारतीय तथा आन्तरिक पर्यटकको आगमन विगतको जस्तै भएको बताए ।
पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबिचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरू रुद्ध भइरहेको बताए । दोस्रो मुख्य पर्यटकीय सिजनमै अपेक्षाकृत पर्यटक आगमन नहुनुको मुख्य कारण मध्यपूर्वमा जारी द्वन्द्व रहेको उनको बुझाइ छ ।
प्रतिक्रिया


