बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनको लागि बैठक आह्वान गरेको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बैठक आगामी चैत १२ गते अपराह्न ४ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय (घण्टी घर)मा बस्ने गरि आह्वान गरिएको हो।

बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन गर्ने रहेको छ। पार्टी स्रोतका अनुसार यस बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्ने सहमतिलाई औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ।

चैत १२ गते नै नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय भएकाले त्यसको लगत्तै बस्ने यस बैठकले आगामी सरकार गठन र राजनीतिक रणनीतिका विषयमा पनि छलफल गर्नेछ।

सभापति लामिछानेले पार्टीको साङ्गठनिक जिम्मेवारी सम्हाल्ने र वरिष्ठ नेता शाहले संसदीय मोर्चाको नेतृत्व गर्ने गरी भएको आन्तरिक सहमतिलाई बैठकले अन्तिम रूप दिने बताइएको छ।

बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *