विशेष महाधिवेशनको नाममा भएको झगडा नै कांग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे

गगनजीको अनुहार हामीले अनावश्यक टाइममा एक्स्पोज गर्‍यौँ  

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गर्छन् । उनले निर्वाचनको मुखमा पार्टीभित्र भएको शक्ति संघर्षले जनतामा नकारात्मक सन्देश गएको र त्यसैको परिणामस्वरुप कांग्रेस खुम्चिन पुगेको विश्लेषण गरे ।

घिमिरेकाअनुसार चुनावको तयारीमा लाग्नुपर्ने समयमा कांग्रेसका नेताहरू ५ महिनासम्म ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन’ भन्ने प्राविधिक र कानूनी लडाईंमा अल्झिएका थिए ।

विशेष महाधिवेशनको नाममा जे जस्ता गतिविधि भए, त्यसले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाएको उनको भनाइ छ । निर्वाचन आयोगले नयाँ नेतृत्वलाई आधिकारिकता दिएपनि पार्टीको ठूलो हिस्साले त्यसलाई स्वीकार गर्न नसक्नु नै पराजयको बीउ भएको उनको तर्क छ । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश-

अघिल्लो महाधिवेशनले तय गरेको केन्द्रीय समितिको बैठक बोलाउने भन्ने निर्णय भयो भन्ने समाचार आएको छ, के यो सत्य हो ?

त्यो विषयमा मलाई कुनै औपचारिक जानकारी छैन । मेरो विचारमा त्यस्तो औपचारिक रुपमा, आधिकारिक रुपमा बोलाउने भन्ने निर्णय त भएको छैन । तर अनौपचारिक रुपमा साथीहरु अब अहिले अत्यन्तै ठूलो अन्यमनस्क हालतमा साथीहरु हुनुहुन्छ । पार्टी नराम्रोसँग पराजित भएको छ । त्यसपछि गएर एकथरी साथीहरु जो १४ औ महाधिवेशनबाट निर्वाचित भएर आउनुभएको थियो । अथवा १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा हुनुहुन्थ्यो । उहाँहरु भुमिकाविहिन, हामीहरु नै भुमिका विहिन भएर बसिराखेको अवस्था छ । यो अवस्थामा केही गर्नुपर्छ भन्ने साथीहरुको भनाई र आवाज छ । तर मलाई लाग्दैन कि अहिले आधिकारिक रुपमा त्यस्तो केन्द्रिय समितिको फर्मल बैठक चाहीँ बोलाई हाल्लान भन्ने कुरा चाहीँ भएको छैन । अनौपचारिक रुपमा साथीहरुको भेटघाट यताउता सम्पर्क त भईनै राख्ने कुरा भयो राजनीतिमा ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको कुरा तपाईंलाई थाहा छ कि छैन ?

विशेष महाधिवेशनको नाममा जे जस्तो भयो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौँ । हामीले चुनावको मुखमा आएर हामीले ५ महिनासम्म पार्टी भित्र झगडा गर्दै रह्यौँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर । र यो झगडाले पार्टी भित्रको समग्र एकतालाई खल्बल्यायो । र त्यसको म्यासेज पनि जनतामा असाध्यै नराम्रोसँग गयो । त्यो निर्वाचनको पराजयका लागि पनि मुख्य कारण बन्यो । हामीलाई लागि राखेको थियो–कि गगनजीको नेतृत्वबाट पार्टी अगाडि बढ्दाखेरी पार्टीले निकै राम्रो परिणाम दिनसक्छ भन्ने हामीलाई जुन विश्वास थियो । त्यो विश्वासको धरातल पनि टुटेको छ । अर्कोतर्फ सबभन्दा ठूलो क्षति भनेको पार्टीलाई के भयो ? मेरो बुझाईमा कि अर्को निर्वाचनका लागि हामीले गगनजीको अनुहार बेचेर, उहाँको अनुहार देखाएर हामीले पार्टीका लागि ठूलो भोट कलेक्शन गर्नसक्थ्यौँ । र त्यो भोट बैंक जुन हाम्रो थियो । अर्थात त्यो भोटका लागि हामीसँग एउटा आशाको अनुहार थियो । त्यो अनुहारलाई हामीले अहिले अनावश्यक टाईममा एक्स्पोज गर्‍यौ । त्यो भने कांग्रेसको अपूरणीय क्षति हो भन्ने मैले बुझेको छु । त्यसले गर्दा यो अपुरणीय क्षतिलाई हामीले कसरी अव रिभाईव गर्छौ, कसरी यसलाई मेन्टेन गर्छौं ? त्यो हाम्रो लागि ठूलो चुनौतिको विषय छ ।

विशेष महाधिवेशन अवैधानिक हो भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ, त्यस अर्थमा पनि अहिले यताउता चहलपहल गर्दा त्यसलाई पो असर गर्ने हो कि ?

मेरो बुझाईमा अहिलेलाई अदालतको निर्णय कुर्नु नै सबैभन्दा उपयुक्त विकल्प हो । अब नेपालको अदालतले एउटा विश्वास गुमाएको छ । त्यो के हो भन्दाखेरी समयमा न्याय नदिने । अनि समय गुज्रिसकेपछि त्यसको औचित्य सकिएपछि मात्रै त्यसलाई खारेज गर्ने । यो किसिमको परिपाटी पनि नेपालको अदालतमा देखिएको छ । त्यसलाई जनविश्वासमा बदल्नका लागि, जनविश्वास आर्जन गर्नका लागि अदालतले आफनो त्यो पुरानो अभ्यासलाई बदल्नु पर्छ । उसले जे फैसला दिन्छ, त्यो फैसला यथाशिघ्र दिनुपर्छ । र त्यो फैसला दिएपछि पार्टी एउटा निष्कर्षमा पुग्छ । त्यसपछि जसले जित्ला, पार्टीलाई सम्हालेर अर्को पटक रिभाईभ गर्नेगरी जाने हो भने जसले जितेपनि पार्टीलाई एकजुट बनाएर लैजानै पर्छ । त्यो बाध्यता हो । होइन भने काँग्रेसले एकथरी शक्तिलाई पन्छाएर नेपाली काँग्रेस कहिल्यै पनि अगाडि बढेको छैन । तपाईलाई म यही सन्दर्भमा एउटा कुरा भनिहाल्छु–२०१५ सालमा टिकट बाँडदाखेरी पनि विपी, सुवर्णजी, सूर्यप्रसाद उपाध्यायजीहरुको अगलअलग टिमहरु थिए । तर तीन जना नै जना मिलेर टिकटहरु बाँड्नुभएको थियो । २१०४८ सालमा पनि गिरिजाप्रसाद, किसुनजी, गणेशमानजी मिलेर नै टिकट बाँड्नुभएको थियो । २०५१ सालमा पनि त्यही भएको थियो । २०५६ मा पनि त्यही भएको हो । २०६४ मा पनि सबै मिलेर गरेको हो । २०७०, २०७४ मा पनि त्यही भयो । २०७९ पनि त्यही भयो । पार्टी भित्रका अनेक शक्ति केन्द्रहरुलाई समायोजन गरेर गरियो । तर यो २०८२ को निर्वाचन भने एकलौटी ढंगले टिकट बाँडिएको हो । र कसैलाई सुझबुझ समेत नगरी हुँदाहुँदा निवर्तमान नै भएपनि शेरबहादुर देउवासँग पनि सम्पर्क गरिएन । उहाँले चुनाव लड्छु भन्दाभन्दै टिकट समेत दिइएन । यी सब कुराहरु भएका हुन् । पार्टी भित्रका यी तितो यथार्थलाई स्वीकार्नु पर्दछ । र जसले जितेपनि पार्टी भित्रको नेतृत्व पार्टी भित्रैबाट आउने हो । बाहिरबाट आउँदैन । त्यो नेतृत्वलाई सबैले स्विकार गरेर पार्टीलाई समग्र एकतावद्ध गरेर लैजाने बाटोमा जानुपर्छ ।

अहिले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको बैठक बसिरहेको छ, यसले नियमित महाधिवेशन गर्ने निर्णय गरेर आयो भने त्यसलाई देउवा पक्षलाई के असर पार्छ ?

नियमित महाधिवेशनमा त जानै पर्छ । अब अदालतले भोली पुरानै केन्द्रिय समितिलाई रिभाईभ गरिदियो भने पनि नियमित महाधिवेशनमा त जानै पर्छ । र यो वर्तमान केन्द्रिय समिति भनिएको छ । उसले पनि नियमित महाधिवेशनमा जानै पर्छ । यो बाध्यता हो । र यो आवश्यकता पनि हो । यदि नियमित महाधिवेशनमा जानका लागि जुन पक्षले जिते पनि पार्टी भित्र एकता कायम गरेर नियमित महाधिवेशनमा गइयो भने हामी सफल हुनसक्छौँ । अर्को चुनावका लागि हामी तयार हुनसक्छौँ । होइन अब मैले जिति हाले, अब मेरो मात्रै चल्छ पार्टीभित्र भन्ने हिसावले अगाडि बढने कोशिस पार्टीभित्र गरियो भने अर्को निर्वाचनमा हामी झन खुम्चिने सम्भावना बढेर जान्छ ।

नियमित महाधिवेशनको घोषणा गरियोभने समानान्तर अभ्यास त गरिरहन परेन नि ?

समानान्तर अभ्यास त गरिरहन परेन । ठिक छ । तर कुरा छ भने आआफनो टिमलाई जिताउने, अर्थात आआफनो चुनाव जित्ने गरी अभ्यास सुरु भईहाल्छ । ती वैचारिक समूहहरुको आ आफ्नो अभ्यास शुरु हुन्छन । त्यो महाधिवेशनकै एउटा नियमित प्रक्रियाको रुपमा अघि बढछ । त्यसले पार्टी भित्र समानान्तर शक्ति केन्द्र अर्थात समानान्तर रुपले पार्टीका दुई वटा खेमा अर्थात दुई वटा शक्ति अघि बढ्नुपर्ने अवस्था पर्दैन । पार्टीको नियमित महाधिवेशनकै प्रारुपको रुपमा, स्वरुपमा आआफना गतिविधि अगाडि बढाउँदा हुन्छ । तर भोली पार्टी भित्रको एकताको पक्षको कुराहरुलाई कुनैपनि पक्षले जसले जिते पनि ओझेल पार्ने प्रयास गर्‍यो, त्यसलाई पन्छाएर हिँड्ने कोशिस गर्‍यो भने समानान्तर अभ्यास र गतिविधिहरु हुन्छन् । त्यसलाई पार्टीले आजको भन्दा पनि ठूलो क्षति पुर्या‍उने मैले देख्दछु । अदालतको फैसला भन्दा अगाडि अनौपचारिक रुपमा जे गरेपनि त्यो त आफ्नो छलफलहरु, कुराकानीहरु भई नै रहन्छन् । तर औपचारिक रुपमा अहिले कुनैपनि क्रियाकलापहरु गर्नु उचित हुँदैन भन्ने मेरो पनि बुझाई हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *