सभापतिको राजिनामा फिर्ता हुन्छ, २१ क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले हारियो: प्रवक्ता चालिसे
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्यहरु एकमत रहेको बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीयसमितिको बैठकमा हालसम्म ४६ जना केन्द्रिय सदस्यले धाराणा राखेको र सबैले राजिनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको उनले जानकारी दिए । उनकाअनुसार बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको छ ।
बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पनि प्रश्तुत गरिएको छ । यसमा आधारित भएर अधिकांश केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका हुन् ।
२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले पराजय
कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए । ३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उनले बताए ।
५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उनले बताए । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको उनले जानकारी दिए ।
केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उनको भनाई छ । उनले ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको बताए । उनले पार्टीको सदस्यता विस्तार हुँदै जाने तर मत भने घट्दै जानु चिन्ताजनक भएको बताए ।
उनका अनुसार कांग्रेसको ९ औँ महाधिवेशनमा करिव १ लाख सदस्य रहेका थिए । १४ औँ महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या बढेर ८ लाख ७० हजार पुगेको छ, तर मत भने कांग्रेसले १७ लाख ५९ हजार ल्याएको छ । उनले कांग्रेसको केन्द्रिय समितिको बैठकमा चुनावी प्रदर्शन र आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा गरिरहेको जानकारी दिए ।


