बागलुङमा जिप दुर्घटना हुँदा ७ जना घाइते
बागलुङ । बागलुङमा लु ३ च ५१५० नम्बरको जिप दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका –४ रात्माटामा दुर्घटनामा परेको हो ।
तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भइ सडकको बायाँतर्फको नालीमा पल्टिँएको हो ।
दुर्घटनामा परि चालक गलकोट नगरपालिका –३ का २५ वर्षीय यादव खत्रीसहित ७ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते चालक खत्रीको दाहिने हात, गलकोट नगरपालिका –९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर केसीको टाउको र दाहिने हात, गलकोट नगरपालिका –३ हटियाकी ७३ वर्षीया दिलकुमारी सहनीको घाँटी र दाहिने हात, गलकोट नगरपालिका–४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्रीको टाउकोमा सामान्य चोट लागेको छ ।
यस्तै, गलकोट नगरपालिका –७ बामियाँका २४ वर्षीय रोशन थापाको टाउको र बाँया हात, गलकोट नगरपालिका –३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनीको घाँटी र गलकोट नगरपालिका–३ हटियाका २२ वर्षीय करण सहनीको नाकमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


