इरान-अमेरिका युद्ध: निर्माण क्षेत्र संकटमा, काम गर्न सक्ने अवस्था छैन: सिंह
काठमाडौं । निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले गर्दा निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो दुई महिनादेखि देशभित्र भएको निर्वाचन र अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वका कारण महँगी बढेको र काम समेत प्रभावित बनेको निर्माण व्यवसायीहरूको बुझाइ छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय आन्तरिक र बाह्य कारण निर्माण क्षेत्र प्रभावित बन्दै गएको बताए । उनकाअनुसार सरकारले आफ्नो ध्यान निर्वाचनमा केन्द्रित गर्दा निर्माण क्षेत्रमा ध्यान दिएन । सरकारले सामान्य खर्च धान्नसमेत कठिनाइ भोगिरहेको र जसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परेको उनको भनाइ छ।
उनकाअनुसार हालसम्म करिब १९ प्रतिशत मात्रै विकास खर्च भएको छ र निकट भविष्यमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना न्यून देखिएको छ । अर्थ मन्त्रालयले न्यून बजेटमै सरकार सञ्चालन गर्न खोजिरहेको र विकासे मन्त्रालयहरूमा छुट्टाइएको बजेट कटौती गर्ने प्रयास भइरहेको अनुभूति आफूहरुले गरिरहेको उनको भनाइ छ ।
यस्तै, खाडी क्षेत्रमा पछिल्लो समय भएको युद्धका कारण इरान, अमेरिका लगायतका देशहरू प्रभावित हुँदा नेपालमा इन्धन आपूर्तिमा समस्या आएको सिंहले बताए । विगत १४ दिनदेखि इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति अवरुद्ध जस्तै बनेको छ, जसले बजारलाई झन् संवेदनशील बनाएको उनको भनाइ छ ।
सिंहले निर्माण क्षेत्रमा प्रयोग हुने बिटुमिन लगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरिएको र केही व्यवसायीले सस्तोमा खरिद गरेर महँगोमा बेच्ने काम गरिरहेको आरोप लगाए । अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अनिश्चित भएपछि स्थानीय स्तरमा मूल्य वृद्धि चुलिएको उनको भनाइ छ ।
उनका अनुसार विगत २/–३ महिनादेखि ग्यास अभाव हुँदा निर्माण कार्य थप प्रभावित भएको छ । मजदुरहरूलाई नियमित रूपमा काममा लगाउन नसकिएको अवस्था रहेको उनको भनाइ छ ।
उनले प्रशासनले बोतलमा इन्धन विक्रीमा प्रतिवन्ध लगाएपछि पनि निर्माण कार्यमा थप समस्या सिर्जना भएको बताए। इन्धन, बिटुमिन र डण्डीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको उनको भनाइ छ । यस्तो जटिल परिस्थितिमा सरकारले निर्माण क्षेत्रलाई राहत दिन ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने उनले माग गरे ।


