रास्वपाको सरकारलाई औँला उठाउनु, खबरदारी गर्नु : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गह्रुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मता देशले सबैलाई ऐतिहासिक बोध हुने बताएका हुन् ।
उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाइ छ । १८४ सिट प्राविधिक कारणले पुगेन । एक दुई सिटबारे स्पष्ट हदै जाला । तर पलपुर भोटका हिसाबले हामीले ५१ लाख अर्थात् ४८ प्रतिशत भोट हासिल गरेका छौं । यो जनादेश, मतादेश जे भने पनि असाध्यै गह्रुङ्गो वैधता लिएका छौं र त्यसलाई सम्हालेर वा जोगाएर यो आशा भरोसालाई निभाएर त्यो ऐतिहासिक बोध हामीले लिनुपर्छ ।’
उनले सांसदको मुख्य भूमिका कानुन बनाउने भए पनि आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्ने र सरकारलाई खबरदारी गर्नु रहेको बताए ।
‘हामी विधायक सांसदको भूमिकामा छौं, सांसदको मूल काम के हो? के गर्ने हुने? के गर्न नहुने ? सहायक काम के हो? बुझ्न जरुरी छ विज्ञहरूले प्रस्ट पार्नुहुन्छ, मूल काम हामी कानुन बनाउन आएको हौं र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने वाच डग हौं, हाम्रै सरकार बने पनि औँला उठाउनु, खबरदारी गर्नुपर्छ । आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्नुपर्छ र उहाँहरूको मुद्दाहरू बुलन्द रूपमा उठाउनुपर्छ,’ उनले भने।
यस्तै, रास्वपाका केन्द्रीय उपसभापति डोल प्रसाद अर्यालले अघिल्लो सदनमा रास्वपाका सांसदहरूले संख्या कम भएकाले नै सोचे जस्तो डेलिभरी गर्न नसकेको बताए ।
‘अघिल्लो पटकको सदनमा रास्वपाका सांसदहरूले सकेसम्म सबै प्रयासहरू गरे तर त्यति वेला संख्याको अपुग भयो र सोचे जस्तो डेलिभरी गर्न सकेनौँ । हाम्रा छोराछोरीहरू देशमा सुशासन भएन, भ्रष्टाचार भयो, हामीहरूलाई बस्न लायक देश बनाइदिनु भनेर स्कुलको लुगामा झोला बोकेर सडकमा निस्किए । हाम्रो संख्या पुगेको भए ती छोराछोरी स्कुलमा रमाउने थिए,’ उनले भने ।


