जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माईतीघरमा प्रदर्शन
काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन भएको छ ।
प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनीहरुले माईतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । भदौ २३ र २४ गते युवाहरू (जेनजी) ले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप र झडप भएपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक नहुँदा आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ ।
प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर कारबाही र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


