सांसदमा नअटाएपछि ज्ञानेन्द्र भन्छन्- म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समेटिएका नेपाली क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सांसदको सिफारिसमा भने पर्न सकेनन् ।
रास्वपाको समानुपातिक उमेदवार सूचीमा आदिवासी जनजाति क्लस्टरमा समेटिएका मल्लले आफू सांसद सिफारिसमा नपरेपछि त्यसलाई क्रिकेट खेलसँग दाँज्दै प्रतिक्रिया दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘क्रिकेटबाट मैले सिकेको कुरा मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन ।’
ज्ञानेन्द्रले थप लेखेका छन्, ‘म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि, अन्त्यमा व्यक्तिको हारजितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो ।’
यसै सन्दर्भलाई सांसदको पदसँग दाँज्दै ज्ञानेन्द्रले लेखेका छन्, ‘खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ । त्यसैले देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ । तर ४८ महिला सदस्य छान्नुपर्दा पुरुषतर्फ सातजनालाई मात्र मौका दिइएको छ । यही कारण ज्ञानेन्द्रको नाम सूचीमा अटाउन सकेन ।
रास्वपाको समानुपातिक सूचीमा परेपछि ज्ञानेन्द्रले ट्वान्टी–२० विश्वकप २०२६ अगाडि राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी देशका विभिन्न स्थानमा पुगी चुनावका दौरान रास्वपाको प्रचारमा संलग्न भएका थिए ।


