ड्रोन आक्रमण पछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द, यात्रुलाई नआउन आग्रह
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा आगलागी भएको छ ।
आगलागी भएपछि सुरक्षा सतर्कता अपनाउँदै सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दुबई मिडिया अफिसका अनुसार इन्धन ट्याङ्कीमा लागेको आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यात्रु र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू रोक्ने निर्णय गरिएको जनाएको छ।
आक्रमणको घटनापछि विमानस्थलका टर्मिनलहरू खाली गराइएको छ। सयौँ यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने उडानको पर्खाइमा रहेका करिब १ हजार यात्रुहरूलाई एसेम्बली प्वाइन्टमा भेला गरिएको छ। केही उडानहरू धावनमार्गमै रोकिएका छन् भने कतिपयलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।
सुरक्षालाइ ध्यान दिँदै एमिरेट्स एयरलाइन्सले सामाजिक सञ्जालमार्फत यात्रुहरूलाई अहिले विमानस्थल नआउन आग्रह गरेको छ। ‘हाम्रा यात्रु र चालक दलको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो,’ एमिरेट्सले भनेको छ। यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न सल्लाह दिइएको छ।


