गगनको राजीनामा आउनसक्छ, रास्वपाले राम्रो काम गरेर यो भोट पाएको होइन : सुदर्शन आचार्य
काठमाडौं । पछिल्लो चुनावी परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति जनतामा गहिरो असन्तोष रहेको संकेत दिएको राजनीतिक विश्लेषक एवम लेखक सुदर्शन आचार्यले बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय कुनै सामान्य चुनावी परिणाम नभई जनताको ‘मास विद्रोह’को अभिव्यक्ति भएको बताएका हुन् ।
आचार्यका अनुसार यसअघि गरिएको विश्लेषणमा रास्वपा पहिलो शक्ति बन्ने, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो हुने अनुमान गरिएको थियो । तर रास्वपाले प्राप्त गरेको सिट संख्या भने अपेक्षाभन्दा धेरै रहेको उनले बताए ।
‘रास्वपा पहिलो शक्ति बन्न सक्छ भन्ने अनुमान थियो । तर नेपाली जनतामा यति ठूलो स्तरको आक्रोश छ भन्ने आँकलन भने गरिएको थिएन,’ उनले भने, ‘यसले परम्परागत दलप्रति जनताको असन्तोष कति गहिरो छ भन्ने देखाएको छ ।’
उनका अनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रले विगत करिब चार दशकदेखि मुलुकको सत्ता सञ्चालन गर्दै आएपनि जनताले अपेक्षा गरेअनुसार सुशासन र प्रभावकारी डेलिभरी दिन सकेनन् ।
‘यी दलहरूले कहिले कांग्रेस–माओवादी, कहिले कांग्रेस–एमाले, कहिले एमाले–माओवादी मिलेर सत्ता सञ्चालन गरे,’ उनले भने, ‘तर जनताले अनुभूति गर्नेगरी सुशासन दिन नसक्दा जनतामा निराशा बढ्दै गयो ।’ विश्लेषक आचार्यका अनुसार युवापुस्ताको असन्तोष पनि यस चुनावी परिणामको महत्वपूर्ण कारण हो । विशेषगरी ‘जेन–जी’ पुस्ताले सुशासन, पारदर्शिता र नयाँ नेतृत्वको माग गर्दै आएको उनले बताए ।
‘युवाहरूले सामाजिक सञ्जाल बन्द नगर्न, सुशासन दिन र पूराना नेताहरूले नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग गरेका थिए,’ उनले भने,‘तर ती मागहरूलाई गम्भीर रूपमा लिइएन ।’ उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको शैलीले पनि जनतामा असन्तोष बढाएको बताए ।

उनका अनुसार पार्टीभित्र फरक विचार राख्नेहरूलाई स्थान नदिने र अन्य दलप्रति कटाक्ष गर्ने शैलीले राजनीतिक संस्कार कमजोर देखिएको छ । आचार्यले झापा क्षेत्रको उदाहरण दिँदै अहिले नेताहरू घर–घर र व्यक्ति–व्यक्ति भेट्न बाध्य भएको बताए । ‘पहिले एउटा सभालाई सम्बोधन गरेर चुनाव जित्ने अवस्था थियो, अहिले नेताहरू घर–घरमा पुग्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।
उनका अनुसार रास्वपाको उदयलाई केवल एउटा दलको सफलता भन्दा पनि पूराना दलहरूको कार्यसम्पादनप्रति जनताको कटाक्षका रूपमा बुझ्नुपर्छ । ‘यो परिणाम रास्वपाले राम्रो काम गर्यो भनेर मात्रै आएको होइन,’ उनले भने, ‘यो पुराना दलहरूले गरेको कार्यसम्पादनप्रतिको जनताको प्रतिक्रिया हो ।’
आचार्यका अनुसार अहिलेको परिणामले नेपालको संविधानले एउटै दललाई बहुमत दिन सक्दैन भन्ने धारणा पनि खण्डित भएको छ । ‘हामीले पहिले दुई वा दुईभन्दा बढी दल मिलेर मात्रै सरकार बन्न सक्छ भन्ने तर्क सुन्थ्यौँ,’ उनले भने, ‘तर जनताले चाहेमा एउटै दललाई बहुमत दिन सक्छ भन्ने कुरा यस परिणामले देखाएको छ ।’ यद्यपि उनले रास्वपाको सरकार गठनपछि नै वास्तविक परीक्षा सुरु हुने बताए । उनका अनुसार नयाँ सरकारले सुशासन, विधि र प्रणालीलाई कसरी कार्यान्वयन गर्छ भन्ने कुराले भविष्य निर्धारण गर्नेछ । ‘अब रास्वपाले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सकेन भने जनताको अपेक्षा पनि निराशामा बदलिन सक्छ,’उनले भने ।
आचार्यले नयाँ सरकारलाई कम्तीमा पहिलो १०० दिन काम गरेर देखाउने अवसर दिनुपर्ने बताए । उनका अनुसार भ्रष्टाचारविरुद्ध निष्पक्ष छानबिन, संवैधानिक निकायहरूको सुदृढीकरण र पारदर्शी नियुक्ति प्रणाली नयाँ सरकारका लागि महत्वपूर्ण परीक्षा हुनेछ । ‘यदि छानबिनमा कुनैपनि पार्टी वा व्यक्तिप्रति पक्षपात भएन भने जनताको साथ, मिडियाको साथ र सम्पूर्ण समाजको समर्थन प्राप्त हुन्छ,’ उनले भने, ‘तर यदि आफ्ना निकटका व्यक्तिलाई बचाएर अरूलाई मात्रै कारबाही गरियो भने त्यसले विवाद निम्त्याउन सक्छ ।’
आचार्यका अनुसार नेपालको राजनीतिमा अब नयाँ चरण सुरु भएको छ । ‘यो परिणामले परम्परागत राजनीतिक शक्तिहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ,’ उनले भने, ‘अब सबैको नजर रास्वपाको कार्यसम्पादनतर्फ हुनेछ ।’
पूराना दलभित्र हलचल, कांग्रेसमा नेतृत्व परिवर्तनको बहस स्वाभाविक
पछिल्लो निर्वाचन परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र गम्भीर दबाबमा परेको विश्लेषक आचार्यको भनाइछ । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयसँगै पुराना दलहरूको प्रभाव घटेको छ र यसले ती दलभित्र नेतृत्व र रणनीतिबारे गम्भीर बहस सुरु हुने संकेत देखिएको छ । आचार्यका अनुसार रास्वपामा विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरूले राजनीति, अर्थतन्त्र र परराष्ट्र सम्बन्धजस्ता जटिल विषयलाई गम्भीर रूपमा अध्ययन गरेर अघि बढ्नुपर्ने चुनौती अब देखिएको छ ।
‘उहाँहरू जुन–जुन क्षेत्रबाट राजनीतिमा आउनुभएको छ, अब देशको अर्थतन्त्र, भू–राजनीति, परराष्ट्र सम्बन्ध र शासन सञ्चालनको जिम्मेवारी कस्तो हुन्छ भन्ने विषयमा गम्भीर अध्ययन गरेर अघि बढ्नुपर्छ,’ उनले भने । उनका अनुसार राजनीतिमा आउनका लागि अनिवार्य रूपमा जेल बस्नुपर्छ वा सडक संघर्ष मात्रै गर्नुपर्छ भन्ने धारणा पनि अहिले सान्दर्भिक नरहेको उनले बताए ।
‘कसैले जेल बसेर राजनीति गर्न सक्छ, कसैले आफ्नो ज्ञान, अनुभव र विज्ञता प्रयोग गरेर पनि राजनीतिमा योगदान दिन सक्छ,’ उनले भने,‘त्यसैले नयाँ पुस्तालाई ‘तिमीले संघर्ष गरेनौ’ भनेर मात्रै प्रश्न उठाउने भन्दा उनीहरूले जनतालाई दिने डेलिभरी कस्तो हुन्छ भन्ने हेर्नु जरुरी हुन्छ ।’
पूराना दलभित्र आन्तरिक विवाद बढ्ने संकेत
आचार्यका अनुसार निर्वाचनमा कमजोर परिणाम आएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीजस्ता दलभित्र आन्तरिक विवाद बढ्ने सम्भावना रहेको छ । यद्यपी, उनले उक्त विवादलाई स्वभाविक रुपमा लिनुपर्ने उल्लेख गरेका छन् ।
‘जब कुनै पार्टीले अपेक्षाअनुसार परिणाम ल्याउन सक्दैन, त्यहाँ नेतृत्व र रणनीतिबारे प्रश्न उठ्छ,’ उनले भने, ‘कांग्रेस र एमाले दुवै दलभित्र अहिले त्यही प्रक्रिया सुरु भइसकेको देखिन्छ ।’ उनका अनुसार नेकपा एमालेभित्र पनि महाधिवेशनपछि नयाँ नेतृत्वले पार्टीलाई बलियो बनाउने दाबी गरे पनि परिणाम अपेक्षाअनुसार नआएको भन्दै प्रश्न उठ्न थालेको छ ।
त्यस्तै नेपाली कांग्रेसभित्र पनि ‘कांग्रेस बदल्यौं, देश बदल्छौँ” भन्ने नारासहित आएको नयाँ नेतृत्वले पार्टीलाई अपेक्षित रूपमा मजबुत बनाउन सकेन भन्ने आलोचना सुरु भएको उनले बताए ।
निर्वाचन परिणामपछि कांग्रेसभित्र सभापति गगन थापाको राजीनामाको बहस पनि सुरु भएको छ । आचार्यका अनुसार यस्तो बहस स्वाभाविक भए पनि राजीनामा नै समाधान भने होइन । ‘राजीनामा नैतिक प्रश्न हुन सक्छ, तर त्यो समाधान भने होइन,’ उनले भने ।
उनका अनुसार सम्भवतः गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सक्ने सम्भावना पनि छ । तर कांग्रेस केन्द्रीय समितिले त्यसलाई अस्वीकार गर्ने सम्भावना बढी रहेको उनले बताए । ‘मलाई लाग्छ केन्द्रीय समितिले उहाँको राजीनामामाथि लामो छलफल नगरी अस्वीकार गर्न सक्छ,’ उनले भने, ‘किनभने अहिले पनि कांग्रेसलाई जनतामाझ देखाउन सक्ने नेतृत्व गगन थापा नै हुन् भन्ने विश्वास पार्टीभित्र बलियो छ ।’

विशेष महाधिवेशनपछि नेतृत्वमा आएको परिवर्तन
आचार्यका अनुसार नेपाली कांग्रेसले भृकुटीमण्डपमा विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेको थियो । उक्त महाधिवेशनबाट गगनकुमार थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेका थिए । तर महाधिवेशन, निर्वाचन आयोगको मान्यता, सर्वोच्च अदालतको मान्यता र टिकट वितरणजस्ता प्रक्रियाहरू निकै छोटो समयमा सम्पन्न भएको उनले स्मरण गरे ।
‘महाधिवेशनपछि नेतृत्वले टिकट वितरण गर्न र चुनावी तयारी गर्न निकै कम समय पायो,’उनले भने, ‘त्यसैले अहिलेको परिणामलाई लिएर नयाँ नेतृत्वमाथि मात्रै दोष थोपर्नु पूर्णतः स्वाभाविक देखिँदैन ।’
कांग्रेस कमजोर हुनुका दुई मुख्य कारण
आचार्यका अनुसार नेपाली कांग्रेस कमजोर बन्नुका पछाडि दुई प्रमुख कारण देखिन्छन् । पहिलो, विशेष महाधिवेशन समयमै हुन नसक्दा नयाँ नेतृत्वले संगठन सुदृढ गर्न पर्याप्त समय पाउन सकेन ।
‘यदि असोजमै विशेष महाधिवेशन भएको भए फागुनसम्म आइपुग्दा पार्टीले राम्रो तयारी गर्न सक्थ्यो,’ उनले भने । दोस्रो कारण भने कांग्रेसभित्रको आन्तरिक विभाजन रहेको उनले बताए । उनका अनुसार पार्टीको एउटा शक्तिशाली धार चुनावी अभियानमा सक्रिय रूपमा नदेखिएको आरोप पनि उठेको छ । ‘कांग्रेसका केही प्रभावशाली नेताहरूले पार्टीका उम्मेदवारलाई मत दिन आग्रह नगरेको र चुनावअघि देश बाहिर गएको भन्ने आरोपसमेत लागिरहेको छ,’ उनले भने । उनका अनुसार यस्तो अवस्था हुँदा पार्टी संगठन कमजोर हुनु स्वाभाविक हुन्छ ।
नयाँ सरकारको चुनौती
आचार्यले रास्वपाको सम्भावित सरकारका लागि चुनौतीहरू पनि कम नभएको बताए । उनका अनुसार जनताले ठूलो अपेक्षासहित मत दिएको हुँदा अब रास्वपाले सुशासन, पारदर्शिता र प्रभावकारी शासन देखाउनुपर्ने दबाब बढेको छ ।
‘रास्वपाले पाँच वर्षसम्म स्थिर सरकार चलाएर जनताको अपेक्षा पूरा गर्न सकेमा नेपाली राजनीतिमा नयाँ अध्याय सुरु हुन सक्छ,’ उनले भने । उनका अनुसार नेपालमा अहिलेसम्म कुनै पनि संसदले पूर्ण पाँच वर्ष कार्यकाल पूरा गरेको उदाहरण छैन । त्यसैले अहिलेको संसदले स्थिरता दिन सक्छ कि सक्दैन भन्ने प्रश्न अझै खुला रहेको उनले बताए । ‘यदि नयाँ सरकार स्थिर रह्यो र प्रतिबद्धता पूरा ग¥यो भने नेपाली राजनीतिमा ठूलो परिवर्तन सम्भव छ,’उनले भने ।
राजनीतिक परिवर्तनको नयाँ चरण
आचार्यका अनुसार अहिलेको चुनावी परिणामले नेपालको राजनीतिलाई नयाँ चरणमा प्रवेश गराएको छ । उनका अनुसार जनताले पुराना दललाई कडा सन्देश दिएका छन् र अब सबै दलले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ ।
‘यो परिणामले पुराना दलहरूलाई सुधारको अवसर पनि दिएको छ,’ उनले भने, ‘रास्वपाले जनताको अपेक्षा पूरा गर्न सकेन भने भविष्यमा राजनीतिक समीकरण फेरि बदलिन पनि सक्छ ।’ उनले अन्त्यमा नयाँ सरकारलाई स्थिरता र सफलताको शुभकामना दिँदै जनताको अपेक्षा पूरा गर्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताए ।
पुराना दलले अब गम्भीर आत्मसमीक्षा गर्नुपर्छ
नेपाली जनताले मतपेटिकामार्फत गरेको निर्णयले परम्परागत दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ । आचार्यका अनुसार विगत चार दशकदेखि सत्ता सञ्चालन गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता दलहरूले अपेक्षित सुशासन र प्रभावकारी डेलिभरी दिन नसक्दा जनतामा असन्तोष बढ्दै गएको थियो ।
यही असन्तोष चुनावी परिणाममार्फत प्रकट भएको उनले बताए । उनका अनुसार केही नेताहरूले दशकौँसम्म सत्ता सम्हाले पनि पार्टीभित्र अवसर सीमित व्यक्तिहरू र तिनका परिवार वरिपरि केन्द्रित भएको जनगुनासो बढ्दै गएको थियो । ‘लामो समयसम्म पार्टीका लागि संघर्ष गरेका कार्यकर्ताले अवसर नपाउने, तर केही सीमित व्यक्तिहरू र उनीहरूको नजिकका व्यक्तिहरूले मात्रै लाभको पद प्राप्त गर्ने अवस्था बनेको थियो,’ उनले भने ।
आचार्यका अनुसार अहिले देखिएको परिवर्तनलाई ‘जेन–जी विद्रोह’का रूपमा पनि बुझ्न सकिन्छ । उनका अनुसार यो कुनै संगठित आन्दोलन नभई स्वतःस्फूर्त रूपमा उत्पन्न भएको जनअसन्तोष हो । ‘जनताले सडकमा उत्रिएर होइन, मतपेटिकामार्फत विद्रोह गरेका छन्,’ उनले भने,‘जनता जागेपछि कसैले रोक्न सक्दैन भन्ने कुरा यो परिणामले प्रमाणित गरेको छ ।’
उनले अब नयाँ सरकारको कार्यसम्पादन अत्यन्त महत्वपूर्ण हुने बताए । यदि नयाँ सरकारले सुशासन, डेलिभरी र समृद्धिको दिशामा काम गर्न सकेन भने भविष्यमा अझ ठूलो राजनीतिक परिवर्तन हुन सक्ने उनको भनाइ छ । त्यस्तै आचार्यले परम्परागत दलहरूका लागि अहिलेको समय आत्मसमीक्षाको भएको बताए । उनका अनुसार कांग्रेस, एमाले र माओवादीले विगत ४० वर्षमा भएका त्रुटिहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता छ ।
‘सत्ता सञ्चालनका क्रममा कहाँ गल्ती भयो, सुशासन किन दिन सकिएन, किन जनतासँग दूरी बढ्यो जस्ता सबै विषयमा गम्भीर समीक्षा गर्न जरुरी छ,’ उनले भने । दलहरूले आफ्ना संगठनात्मक संरचनालाई पनि पुनर्गठन गर्नुपर्ने आवश्यकता देखिएको छ । धेरै ठाउँमा पार्टीका क्रियाशील सदस्यले समेत आफ्नो पार्टीलाई मत नदिएको तथ्यले संगठनभित्रै असन्तोष रहेको संकेत गर्ने उनले बताए ।
आचार्यले संसदमा रहेका दलहरूले जनताको पक्षमा सक्रिय भूमिका खेल्नुपर्ने पनि बताए । उनका अनुसार सरकारले राम्रो काम गर्दा समर्थन र खराब काम गर्दा दृढ रूपमा आलोचना गर्ने जिम्मेवारी प्रतिपक्षको हो । -नेपाल न्यूज बैंक


