नवनिर्वाचित राष्ट्रिय सभाका १८ सांसदले लिए शपथ (तस्बिरहरू)
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यहरूले शपथ लिएका छन् ।
सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्। गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोश्नी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका थिए।

यस्तै मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही, सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।



