जेनजी प्रदर्शन जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

आयोगले विशेषगरी २३ र २४ गते भएका घटनाहरूको विस्तृत अध्ययन तथा तथ्य अन्वेषण गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो । आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्माकाअनुसार प्रतिवेदनमा घटनाका आधारमा आवश्यक कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ ।

आयोगले तयार पारेको मुख्य प्रतिवेदन करिव ९ सय भन्दा बढी पृष्ठको रहेको छ । अनुसूची र अन्य प्रमाणसहित सम्पूर्ण दस्ताबेज करिव ८ देखि १० हजार पृष्ठको रहेको शर्माले जानकारी दिए ।

उनकाअनुसार प्रतिवेदनमा २३ र २४ गतेका घटनाहरूलाई मसिनो रूपले विश्लेषण गरिएको छ । जाँचबुझका क्रममा आयोगले २ सय भन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरेको थियो । यसका साथै विभिन्न व्यक्तिहरूको बयान कागज गराइएको, साक्षी, पीडित र विशेषज्ञहरूसँग राय सुझाव लिएर विस्तृत रूपमा काम गरिएको आयोगले जनाएको छ ।

उनले भने, ‘प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरूको तथ्य अन्वेषण गर्ने प्रयास गरेका छौँ । हामीले देखेका, बुझेका र प्रमाणका आधारमा राय सुझाव दिएका छौँ । अब यो सम्पत्ति सरकारको भयो, सरकारले यसको आवश्यक कारबाही गर्नुपर्ने, पुरस्कृत गर्नुपर्ने के गर्नुपर्ने हो अब सरकारले गर्छ ।’

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले आयोगलाई धन्यवाद दिएको शर्माले बताए। प्रधानमन्त्रीले प्रतिवेदन अब सरकारको सम्पती भएको र यसमाथि सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएको शर्माले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *