पर्सामा सुरक्षा ‘हाइ-अलर्ट’: ७२ घण्टा सीमा ‘सिल’ गरिँदै
वीरगञ्ज । पर्सा प्रशासनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र होली पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा उच्च कडाइ गरेको छ ।
निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आज (सोमबार) मध्यरातदेखि ७२ घण्टाका लागि नेपाल-भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग जोडिएका भारतको विहार राज्यका पूर्वी र पश्चिम चम्पारणका सबै अन्तर्राष्ट्रिय नाकाहरू फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि बन्द रहनेछन् ।
निर्वाचन सुरक्षाका लागि दुवै मुलुकको आपसी सहमतिमा सीमा ‘सिल’ गर्ने परम्पराअनुसार यो कदम चालिएको हो ।
-मधेसमा मनाइने होली पर्वका लागि पनि विशेष आचारसंहिता जारी गरेको छ। यसपटकको होलीमा कुनैपनि राजनीतिक दल वा उम्मेदवारको झन्डा, चुनाव चिह्न अंकित टि–सर्ट वा कपडा लगाएर रङ खेल्न पाइने छैन । यदी कसैले राजनीतिक प्रचारको रूपमा होलीलाई प्रयोग गरेमा कडा कारबाही गरिने प्रशासनको चेतावनी छ ।
होलीको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न प्रशासनले फागुन २० गते जिल्लाभर मोटरसाइकल चलाउन निषेध गरेको छ ।
यस्तै, फागुन १९ गतेदेखि निर्वाचनको परिणाम घोषणा नभएसम्म कुनै पनि सभा, जुलुस वा सामाजिक कार्यक्रममा डिजे जस्ता ठूला आवाज निकाल्ने बाजा बजाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
सहायक प्रजिअ पोखरेलले मदिरा सेवन गरी सामाजिक सद्भाव बिगार्ने, जबर्जस्ती रङ दल्ने वा सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिइने स्पष्ट पारेका छन् । प्रशासनले सबैलाई निर्वाचनमैत्री र शान्तिपूर्ण वातावरणमा होली मनाउन र निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।


