अबुधाबीमा अलपत्र परेका पर्यटकहरूको होटल खर्च सरकारले व्यहोर्ने
काठमाडौं । यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च व्यहोर्ने भएको छ ।
विभागले ५ दिनअघि नै निर्णय गरिएको एक परिपत्र जारी गर्दै आबुधावी क्षेत्रमा काबु बाहिरको परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक-आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ ।
विभागले होटलका महाप्रवन्धकहरूलाई पठाएको पत्रमा स्पष्ट पारेको छ कि चेक–आउट मिति पुगे पनि काबु बाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई, उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।
यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च अबुधाबी संस्कृति तथा पर्यटन विभाग स्वयंले व्यहोर्ने भएको छ । होटलहरूलाई यस अवधिको बिल तथा इनभ्वाइसहरू विभागको तोकिएको इमेल ठेगानामा पठाउन सूचित गरिएको छ ।
यस प्रक्रियामा थप जानकारी आवश्यक परेमा वा कुनै समस्या आएमा विभागले आफ्नो ‘बिजनेस कन्टिन्युटी टिम’ को सम्पर्क नम्बर ०२६५७६२८३ समेत सार्वजनिक गरेको छ । अबुधाबी सरकारको यो निर्णयले अनपेक्षित यात्रा प्रतिबन्धका कारण आर्थिक तथा मानसिक तनावमा परेका पर्यटकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।


