रास्वपा कर्णालीका महामन्त्री र सुर्खेका कार्यवाहक सभापति कांग्रेस प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश महामन्त्री चन्द्रकला बिक र सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेतले पार्टी परित्याग गरेका छन् ।
रास्वपा त्यागेका उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
भ्रष्टाचार अन्त्य र सुशासनको नारा लगाउने रास्वपा भ्रष्टाचारमा लिप्त भएकोले पार्टी छोडेको उनीहरूको आरोप छ । कांग्रेस प्रवेश गर्दै संस्थापक महामन्त्री विकले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न आएको पार्टी उल्टै आन्तरिक रूपमा अपारदर्शी हुन थालेपछि रास्वपा परित्याग गरेको बत्ताइन् ।

‘जान्नेलाई छान्नेको नारा दिएर अलोकतान्त्रिक गतिविधि त्यो पार्टीमा बढेका छन्,’ उनले भनिन्, ‘उपपार्टीभित्रको आर्थिक अपारदर्शिता चुलिएको छ ।’
निर्वाचनका लागि समानुपातिक उम्मेदवारबाट ५० हजार रुपैयाँ र प्रत्यक्षतर्फका उम्मेदवारबाट २५ हजार उठाएर त्यसको लेखाजोखा नभएको तथा प्राइमरी ईलेक्सनका नाममा पहिलो नम्बरमा भएकालाई पाखा लगाइएको उनको आरोप छ ।
मुलुकको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यमान्यता र विकासको एजेन्डाअघि बढाउन रास्वपा असक्षम रहेकाले बेलैमा सचेत हुन आग्रह गरे ।


