मदेसमाथिको अन्याय र विभेद नबुझ्नेहरू हाम्रा हितैषी होइनन् : उपेन्द्र यादव
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मदेसले नै अब देशको भविष्य तय गर्ने दाबी गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आम मतदातालाई सम्बोधन गर्दै राज्यले विगत झैँ मदेसलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे ।
‘मधेस केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,’अध्यक्ष यादवले भने,‘अबको निर्णायक शक्ति मधेस हो, र देशको भविष्य पनि मदेसले नै तय गर्नेछ ।’
मदेसको आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै मधेस बलियो भयो भने मात्र सङ्घीयता बलियो हुन्छ, देश पनि सुरक्षित र समृद्ध हुने बताए ।
जसपा नेपालले नै मदेसको एजेन्डा, विभेद, उत्पीडन र पहिचानका सवाललाई गाउँ गाउँदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएको जिकिर गर्दै उनले भने, ‘मदेसमाथिको ऐतिहासिक अन्याय र संरचनागत विभेद नस्विकार्ने, नबुझ्नेहरू मदेसको हितैषी हुनै सक्दैनन् ।’
विगतको सङ्घर्षलाई केवल इतिहास नभई भविष्यको आधार भएको भन्दै उनले मदेसलाई उपेक्षा गरेर विकास र समृद्धिको सपना केवल खोक्रो नारा मात्र हुने बताए ।
‘जसको एजेन्डामा मदेसको समस्या र उत्पीडनको सवाल स्पष्ट छैन, उसले मदेसको नेतृत्व कसरी गर्छ ? नयाँ दलहरूप्रति संकेत गर्दै उनले भने,’ ‘केही शक्तिहरूको ध्यान केवल मदेसको भोटमा मात्रै केन्द्रित छ, तर मदेसले सदियौँदेखि भोग्दै आएको गरिबी, अशिक्षा, बेरोजगारी र राज्यको विभेदप्रति उनीहरूमा कुनै संवेदनशीलता छैन ।’
जसपा अध्यक्ष यादवले यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्रै होइन, यो मदेसको सम्मान, अधिकार र भविष्य जोगाउने महत्त्वपूर्ण निर्णायक अवसर भएको बताउँदै आम मतदातालाई सचेत, एकताबद्ध र दृढ भएर मदेसको अस्तित्व र स्वाभिमानको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
यो निर्वाचनबाट जसपा नेपाल एउटा निर्णायक शक्तिको रूपमा उदाउने अध्यक्ष यादवको दाबी छ ।


