रुकुम पश्चिममा शर्मालाई उज्यालो नेपाल पार्टीका केसीको पनि समर्थन

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको एउटा राष्ट्रिय नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफूलाई समर्थन गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गरे ।

रुकुमको समग्र विकासमा टेवा पुर्‍याउन समर्थन गरेको उनको दाबी छ । एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ । प्रलोपाका शर्मा, नेपाली कांग्रेसका राजु केसी, नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही निर्वाचनको मैदानमा छन् ।

नेता शर्माले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको बताए । आफ्नो चुनावी एजेण्डाबारे प्रष्ट पार्दै शर्माले रुकुम पश्चिमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहोर्‍याए । उनले आम मतदाताहरूलाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा उभिन आग्रह गरे ।

निर्वाचनको सरगर्मी बढिरहँदा नेता शर्माले आफूलाई कुनै एउटा दल विशेषको मात्र नभई सम्पूर्ण रुकुमेलीहरूको ‘साझा उम्मेदवार’ भएको बताए । विगतमा सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर परिणाममुखी काम गरेको उनको दाबी छ।

नेता शर्माले रुकुम पश्चिमको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्दै मतदाताहरूलाई विकासको पक्षमा एकजुट हुन आग्रह गरे । रुकुमलाई आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा न्यायपूर्ण बनाउने आफ्नो एजेण्डा नै जितको मुख्य आधार रहेको उनको ठहर छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *