अरनिको यातायात १५ दिनपछि पुनः सञ्चालनमा

No ads found for this position
No ads found for this position

रामेछाप । माघ २७ गते मन्थली नगरपालिका–६ भलुवाजोरको लिलौतिमा भएको भीषण बस दुर्घटनापछि १५ दिनदेखि बन्द रहेको नेपाल अरनिको यातायात सेवा प्रालिको मन्थली हुँदै चल्ने बस सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । मन्थली हुँदै ग्रामीण क्षेत्रमा चल्ने बस सेवा बन्द हुँदा स्थानीयले हैरानी खेप्दै आएका थिए ।

उक्त दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए । दुर्घटनापछि मृतकका आफन्तहरूले राहत तथा क्षतिपूर्तिको विषयमा असन्तुष्टि जनाउँदै अरनिको सेवा प्रालिका यात्रु बोकेका बसहरू बाटोमै रोकेर चालकहरूमाथि दुर्व्यवहार गरेको भन्दै सो कम्पनीले सेवा मन्थली रुटमा चल्न रोके लगाएको थियो ।

मन्थली हुँदै ग्रामीण क्षेत्रमा ओहोरदोहोर गर्ने बस सेवा बन्द भएपछि रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित भएको थियो । ग्रामीण भेगबाट सदरमुकाम मन्थली तथा काठमाडौं र तराई आऊ–जाउमा यात्रुहरूलाई गन्तव्य सम्म पुग्न कठिनाइ भएको थियो । यातायात सेवा बन्द हुँदा बिरामी, विद्यार्थी र ज्यालादारी मजदुरी गर्नेहरू सबैभन्दा बढी मारमा परेका थिए ।

बस सेवा ठप्प भएपछि नागरिक स्तरका विभिन्न संघ–संस्थाहरूले राज्य संयन्त्रले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले पीडितलाई न्याय र यातायात सेवा दुवै सुनिश्चित गराउन स्थानीय प्रशासनलाई दबाब दिएका थिए ।

दुर्घटनामा ज्यान गुमाएका १५ जनाका परिवारलाई बिमा सुविधा बापत ५ लाख रुपैयाँ र काजक्रिया खर्च बापत १ लाख रुपैयाँ उपलब्ध गराउने तयारी भइरहेको प्रालिले जनाएको छ । तर मृतकका आफन्तहरूले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । क्षतिपूर्ति रकमको विषयमा अझै सहमति जुट्न सकेको छैन ।

दुर्घटनामा घाइते भएका ८ जनाको उपचारको सम्पूर्ण जिम्मेवारी प्रालिले लिएको जनाएको छ। घाइतेहरूको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

नेपाल अरनिको यातायात सेवा प्रालिका रामेछाप जिल्ला इन्चार्ज सुवास फुयाँलले मन्थली रुट हुँदै गुड्ने बसहरू पुनः सञ्चालनमा आएको जानकारी दिए । यातायात सेवा पुनः सुरु भएसँगै बजार क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *