रामेछापलाई ‘हाइ अलर्ट’मा राखियो, ४१ मतदान स्थल अति संवेदनशील
रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लालाई ‘हाइ अलर्ट’मा राखिएको छ । जिल्लाका ९६ मतदान स्थलमध्ये ४१ वटा अति संवेदनशील सूचीमा परेपछि सुरक्षा संयन्त्रले संयुक्त रणनीति लागू गरेको जनाएको छ । दुई नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडा रहेको एक मात्र निर्वाचन क्षेत्र रामेछापमा कुल ९६ मतदान स्थल र २ सय २८ मतदान केन्द्र रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) भोलाकुमार भट्टका अनुसार अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक अवस्था, सुरक्षा पेरिमिटर, पहुँच मार्ग र पूर्वाधारको स्थितिलाई आधार मानेर मतदान स्थल वर्गीकरण गरिएको हो । ‘जिल्लाका ९६ मध्ये ४१ मतदान स्थल अति संवेदनशील, ३५ संवेदनशील र २० सामान्य श्रेणीमा राखिएका छन्,’ उनले भने ।
सुरक्षा अनुगमनका क्रममा करिब १५–१६ मतदान स्थलमा काँडे तार वा स्पष्ट पेरिमिटर नभएको पाइएको प्रहरीले जनाएको छ । ती स्थानमा आवश्यक घेरा सुरक्षा मिलाउन स्थानीय तहलाई परिपत्र गरिएको डिएसपी भट्टले जानकारी दिए । हाल ३१ मतदान स्थलमा सीसी क्यामेराबाट निगरानी भइरहेको छ । ‘सम्भव भएसम्म अन्य स्थानमा पनि सीसी क्यामेरा जडान गर्न स्थानीय तह, विद्यालय प्रशासन र मतदान व्यवस्थापन समितिलाई सुझाव दिएका छौँ,’ उनले भने ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा उपलब्ध जनशक्तिसँगै तालुक कार्यालयबाट थप सुरक्षाकर्मी मगाइएको छ । खटिने प्रहरीहरू युनिटगत रूपमा परिचालित भइसकेका छन् र मतदानको ३–४ दिनअघि सम्बन्धित मतदान स्थलमै तैनाथ गरिने तयारी रहेको प्रहरीले जनाएको छ ।
उनका अनुसार सुरक्षाकर्मीलाई घेरा सुरक्षा, भीड व्यवस्थापन, परिचालन विधि र आकस्मिक अवस्थाको कार्य योजनाबारे विस्तृत ब्रिफिङ गरिएको छ । कुनै स्थानमा अप्रत्याशित समस्या देखिएमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबिच समन्वयमा ‘कम्बाइन्ड सुरक्षा रणनीति’ लागू गरिनेछ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लामा १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन् । यसबाहेक २ हजार ४ सय २२ अस्थायी मतदाता छन् । निर्वाचनमा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धा कडा देखिएसँगै सुरक्षा निकायले पनि जोखिम मूल्याङ्कनलाई उच्च प्राथमिकतामा राखेको छ ।


