आयोगमा ६१२ हानिकारक सूचनाका उजुरी, खातामार्फत निर्वाचन खर्च नगर्नेलाई कारबाही हुने
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ ।
आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवर्द्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
उनकाअनुसार प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन आयोगले सम्बन्धित निकायहरूमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको उनले जानकारी दिए । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १ सय २९ वटा सामग्री हटाएको उनले बताए ।
हानिकारक सूचना प्रकाशित गर्ने १२ वटा वेबसाइटलाई ब्लक गरिएको छ । उनकाअनुसार वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो । ती साइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले व्लक गर्न सिफारिस गरेको उनले जानकारी दिए ।
उनकाअनुसार प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको उनले जानकारी दिए । सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेश गरेको उनको भनाई छ ।
जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको उनले जानकारी दिए । उनले निर्वाचन अवधिभर आचारसंहिता विपरित गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिने बताए ।
उनले भने, ‘आयोगमा स्थापना गरेको सूचना सदाचार प्रवर्द्धन एकाईमा हालसम्म प्राप्त भएका हानिकारण सूचनाहरु ६१२ वटा छन् । यी सूचनाहरुलाई नियमित गर्न, व्यवस्थापन गर्न र तिनीहरुलाई हटाउनको लागि आयोगले विभिन्न निकायहरुमा पत्रचार गर्दै आएको छ । ती निकायबाट त्यस्ता सूचनाहरु हटेका पनि छन् ।’
बैंक खातामार्फत निर्वाचन खर्च नगर्नेलाई कारबाही हुन्छ
निर्वाचन आयोगले निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेद्वारहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो ।
आयोगले बैंक खातामार्फत मात्र खर्च गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको तर आयोगले तोकेको व्यवस्था उल्लंघन गरे निर्वाचन आचारसंहिताअनुसार कारबाही हुने घिमिरेले बताए ।
उनकाअनुसार हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन् । खाता सञ्चालन गर्ने राजनीतिक दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ठूला राजनितिक दलहरुले समेत हालसम्म बैंक खाता सञ्चालनमा ल्याएका छैनन् । आयोगले बैंक खाता खोलेर बैंकिङ कारोबारमार्फत मात्र निर्वाचन खर्च गर्न आग्रह गरेको छ ।
२५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था रहेको घिमिरेले जानकारी दिए । घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । सो प्रावधानअनुसार उम्मेदवारहरूले उम्मेदवारी दर्ताकै क्रममा आफ्नो अनुमानित निर्वाचन खर्च र त्यसको स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।
आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च सञ्चालन गर्न बैंकमा छुट्टै खाता खोल्नुपर्ने, खाता सञ्चालनका लागि छुट्टै पदाधिकारी तोक्नुपर्ने तथा खातामा आएको सबै रकम र गरिएको खर्चको बिल–भरपाई सुरक्षित राख्नुपर्नेछ ।


