नौबिसे-नागढुंगा सडक खण्डको काम ८५ प्रतिशत सम्पन्न
३५ दिनभित्र कालोपत्रे र खानी खोलामा आकासे पुल निर्माण हुने
धादिङ। धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे-नागढुंगा सडकको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
नौबिसे-नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकारअनुसार नौबिसे-नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ ।
आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानी खोलामा आकाशे पुल निर्माण गनुपर्नेछ ।
अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम सुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।
आकाशे पुल निर्माण हुने खानी खोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको छ । आकाशे पुल निर्माण लगायत मुख्य कामहरू ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ ।
सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ ।
अकासे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले गति लिने विश्वास आयोजनाले लिएको छ ।
सगुन कन्स्ट्रक्सन प्रबन्ध निर्देशक सहदेव खड्काले निर्वाचनका कारण निर्माणमा केही ढिलाइ हुने बताए। यसअघि सडकमा रहेका विद्युत् पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।
२०७९ बाट निर्माण सुरु गरिएको आयोजना तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।


