मन्त्रिपरिषद् निर्णय : चुनावमा ३ दिन सार्वजनिक बिदा दिने, जेनजी परिषद् गठन गरिने
काठमाडौं । सरकारले यही फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यसैगरी निर्वाचनका लागि चीन सरकारले अनुदान सहायताको रुपमा लिन लागेको ४ मिलियन अमेरिकी डलर करिव ५४ करोड नेपाली रुपँयाँ स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको काम समेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने, विमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धि मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय पनि सरकारले गरेको छ ।
बुढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्विकृत पनि गरिएको छ । मन्त्रीपरिषद् बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम सो आयोजनाको वित्तीय लगानीको ढाँचा स्वीकृत गरेको मन्त्री अर्यालले स्पष्ट पारे ।
उनले भने,‘चीन सरकारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदा गर्ने प्रश्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने । चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने । काठमाडौं जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको काम समेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने । बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धि मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने । विक्रम सम्वत २०८३ साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक विदा निर्धारण गर्ने । मिति २०८२/११/२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म ३ दिन मुलुकभर सार्वजनिक विदा दिने । र अन्त्यमा जेनजी परिषद् गठन गर्ने ।’


