खेत बालीमा बँदेलले हानि पुर्‍याए पक्रन वा मार्न पाइने

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्‍याउने जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ ।

मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार, अब किसानले आफ्नो निजी खेत, खला वा बारीमा पसेर दुख दिने जंगली बँदेललाई (सानो जातको बँदेल बाहेक) बिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्नेछन् ।

सरकारले यो सुविधा केही निश्चित सर्तहरूको अधीनमा रहेर मात्र दिएको छ ।

क्षति पुर्‍याएको अवस्थामा

बँदेलले किसानको बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएमा मात्र किसानले एक्लै वा सामूहिक रूपमा त्यसलाई धपाउन, लखेट्न वा पक्रन पाउनेछन् ।

सम्बन्धित निकायमा बुझाउनुपर्ने

यदि बँदेललाई जिउँदै समातिएको छ भने त्यसलाई तुरुन्तै नजिकैको राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र, डिभिजन वन कार्यालय वा सो मातहतका कार्यालयमा बुझाउनुपर्नेछ ।

स्थानीय तहलाई जानकारी

यस्तो घटनाको जानकारी सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत दिनुपर्ने सूचनामा उल्लेख छ ।

यो व्यवस्था राजपत्रमा सूचना प्रकाशित भएको मिति (२०८२/११/११) देखि एक वर्षसम्मका लागि मात्र लागु हुने बताइएको छ । यस निर्णयले वर्षौँदेखि बँदेलको आतङ्कबाट पीडित पहाडी तथा तराईका किसानहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *