गाउँमा उम्मेदवारको चटक: झण्डावाला गाडीमा गीतहरू गुन्जिछन् तर न भोटर छन्, न उत्साह
सुर्खेत । कर्णालीका पहाडी डाँडाहरूमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुन्जिरहेको छ । हातमा झण्डा र झोलामा घोषणापत्र बोकेका नेताहरू दैलो–दैलो पुगिरहेका छन् ।
अरुबेला मतदाताले ‘नमस्कार’ गरेको वास्ता नगर्ने उम्मेदवारहरु अचेल बाटोमा कोही देख्ने बित्तिकै दुवै हात जोडेर नमस्कारको अभिवादन गर्छन् । कोही त खुट्टामै ढोक्छन् भने कोही शिर निहुँराएर मतदाता सामु झुकिरहेका देखिन्छन् ।
सडक यातायातले छोएका बस्तीहरूमा विभिन्न दलका झण्डावाला गाडीहरूमा चुनावी गीतहरू गुन्जिरहन्छन् । तर, जब उम्मेदवारहरू र उनका सहयोगीहरू भोट माग्न गाउँ पस्छन्, उनीहरूलाई स्वागत गर्न बाटोमा न त तन्नेरीको ताँती देखिन्छ, न त चुनावको त्यो पुरानो रौनक । केही सीमित कार्यकर्ताहरुकोले उनीहरूलाई फूलमाला र खादा ओढाउँछन् अनि लगाउँछन् गाउँको वास्तविकताबारे बेली बिस्तार ।
गाउँमा पुगेका उम्मेदवारहरुलाई भोट थपिएको र थप्न सकिने सम्भावनाबारे भारतबाट आउने र सहरबाट घर फर्किनेहरुको संख्यामा निर्भर हुने रिपोर्टिङ स्थानीय कार्यकर्ताहरूले गर्न थालेका छन् ।
कालिकोटका गाउँहरूमा चुनावप्रतिको रौनक खासै देखिएन । मतदान गर्न गाउँबाहिर रहेकाहरू फर्कन कि नफर्किने भन्ने दोधारमै छन् भने गाउँमा भएकाहरूमा पनि उत्साह देखिएन । मतदातामा चुनावप्रतिको निराशा र वितृष्णा छाएको छ । उनीहरूमा उत्साहभन्दा बढी प्रश्न र असन्तोष देखिन्छ ।
उम्मेदवार र कार्यकर्ता मतदाताको घरदैलो गरिरहेका छन् । उनीहरूले मत मात्रै मागिरहेका छैनन् विकासका सपना र आश्वासनका पोकाहरू पनि सँगै बाँडिरहेका छन् ।
मतदाताहरूमा चुनावको रौनक र राजनीतिक दलहरूप्रतिको आशा हराए पछि गाउँमा चुनावको उत्साह नभएको नरहरीनाथ गाउँपालिका–३ का धर्मप्रसाद उपाध्यायले बताए । ‘उम्मेदवार हरेक दिन आउँछन्, आश्वासन र विकासका सपना बाँड्छन्’ उनले भने, ‘तर मतदाताले अहिले उनीहरूलाई पत्याइरहेका छैनन् ।’ गाउँका अधिकांश मानिसहरू रोजगारीका लागि देशका सहरी क्षेत्रमा, भारत तथा अन्य मुलुकहरूमा गए पछि युवाविहीन भएको उनको भनाई छ ।
रोजगारीको लागि गाउँका युवाहरू भारतलगायतका अन्य मुलुक र देशकै सहरी क्षेत्रमा गए पछि यो चुनावमा मतदान अपेक्षाकृत हुन नसक्ने अनुमान स्थानीयले गर्न थालेका छन् । गाउँबाट अन्य क्षेत्रमा गएका मतदाताहरू मतदान केन्द्रमा पुगेर भोट हाल्ने अवस्था बनाउन नसके मतदान कम हुन सक्ने नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट बताउँछन् ।
‘साबिकको कर्णालीमा सबैभन्दा धेरै मतदाता भएको पालिका हाम्रै हो’ उनले भने, ‘गाउँ बाहिर रहेकाहरू चुनावमा फर्किएनन् भने मतदान न्यून हुन सक्छ ।’ नरहरीनाथमा कूल मतदाता १३ हजार ६३ जना रहेपनि त्यसको आधा मतदान हुने अवस्था नरहेको उनको भनाई छ ।
स्थानीय तह गठनपछि गाउँमै विकास र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो । तर अधिकांश बजेट सडक ट्र्याक खोल्न र भवन निर्माणमा सीमित हुँदा उत्पादनमुखी क्षेत्रमा ठोस परिणाम नआएको स्थानीय बताउँछन् । कृषि आधुनिकीकरण, जडीबुटी प्रशोधन, पर्यटन प्रवर्द्धन जस्ता योजनाहरू कागजमै सीमित हुँदा युवाले गाउँमा भविष्य देख्न सकेनन् ।
घरदैलोमा उम्मेदवार
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन र २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएकाले यो पटक कालिकोटको चुनावलाई जिल्लामा राजनीतिक दलको शक्ति परीक्षणको रूपमा पनि हेरिएको छ । यो पटकको चुनावमा दलहरू एक्ला एक्लै चुनावी मैदानमा उत्रिएपछि कार्यकर्ताहरू मतदाता आ–आफ्नो पक्षमा मत तान्न क्रियाशील देखिन्छन् ।
उम्मेदवारहरू बस्ती स्तरमा आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा मतदाता बटुल्न सक्रिय छन् । मतदाताहरू जहाँ छन्, सबै उम्मेदवार र पार्टीका कार्यकर्ताहरू उनीहरूलाई खोज्दै त्यही पुग्ने गरेका छन् ।
घरदैलोमा गएका उम्मेदवारले मतदाता आकर्षण गर्न विभिन्न चटकहरु पनि गरिरहेका छन् । नेकपा माओवादीका उम्मेदवार खड्काबहादुर विश्वकर्माले गाउँमा कहिल्यै स्याउ बगैँचा अवलोकन त कहिल्यै मतदाताको खेतमा हलो जोतेको भिडिओहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
मतदाता आकर्षण गर्न मात्र होइन दलहरूबिच आरोप प्रत्यारोप र विकासका काममा जस लिने होडबाजी पनि चलिरहेको छ ।
कालिकोटमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र नेकपा माओवादीका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाका प्रकाश न्यौपानेले पनि पुराना दलका उम्मेदवारलाई चुनौती थपेका छन् । एक स्वतन्त्रसहित १० जना उम्मेदवारले जिल्लाभर घरदैलो र आमसभाहरू सञ्चालन गरिरहेका छन् । सबै दलहरूले आफूले जित्ने दाबी गरेका छन् ।


