सुनसरीमा सुरक्षा चुनौती : भारतसँग सीमा जोडिएका ५९ मतदान स्थल अति संवेदनशील

No ads found for this position
No ads found for this position

सुनसरी। भारतसँग सीमा जोडिने सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचिमा परेका छन् । सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचिमा रहेका  हुन् ।

जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसाबले अति संवेदनशील ठानिएको छ ।

सीमावर्ती भेगमा पर्ने उक्त पालिकाका सबै मतदान स्थल सुरक्षाका हिसाबमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा दक्षिणी भेगका अलावा दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।  त्यसै गरी गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरुवा ९ को ४ वटा मतदान स्थल र धरान ५ को हिमाली मा.वि.देउराली मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।

सुनसरी प्रशासनले निर्वाचन लक्षित सुरक्षाका हिसाबले विशेष गरी जिल्लाको दक्षिणी खुला नाकालाई नै मुख्य सुरक्षात्मक चुनौतीका रूपमा हेरेको छ । सोहीअनुसार भारतीय समकक्षीसँगको समन्वयमा सीमा नाकामा कडाइ थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नाकाबाट हुने आवतजावत लक्षित गरी दुई तर्फी चेकजाँच बढाइएको प्रशासनले जनाएको छ । नाकाबाट हुनसक्ने शङ्कास्पद गतिविधि र आपराधिक प्रवृत्ति भएकाहरूबाट हुनसक्ने थ्रेटलाई मध्यनजर गर्दै सर्तकर्ता बढाइएको प्रशासनले जनाएको छ ।

धार्मिक सद्भाव कायम राखी रहने, अवाञ्छित कार्य हुन नदिने जस्ता कुरालाई ध्यानमा राखी सुनसरीमा प्रशासनले निरन्तर रूपमा सर्वपक्षीय र सर्वदलीय बैठक समेतको आयोजना गरिरहेको छ । विशेष गरी जेनजी मुभमेन्ट र पुराना दलबिच देखा पर्न सक्ने तिक्ततालाई मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन र सुरक्षा बन्दोवस्तीमा जोड दिइएको प्रशासनले जनाएको छ ।

समग्र जिल्लाको शान्ति सुरक्षा कालागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ड्युटीमा परिचालित भैसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदान स्थल र ५९१ मतदान केन्द्र तोकिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार मत खसाल्न योग्य जिल्लाको कुल मतदाता सङ्ख्या ५ लाख ८० हजार ९ सय ४५ रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *