रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यू जारी

No ads found for this position
No ads found for this position

रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

बौधिमाई नगरपालिका–९ सरमुजवाबाट बिहीबार राति आएको विवाहको जन्ती बाजा बजाउँदै सबगढा प्रवेश गर्ने क्रममा मस्जिद अगाडि अवरोध भएपछि विवाद सुरु भएको थियो। सो क्रममा जन्तीमाथि ढुंगा प्रहार हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए। गएराति पुनः भएको झडपमा ६ जना घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब चार/पाँच सयको भीड जम्मा भई पुनः झडप सुरु भएपछि र स्थिति नियन्त्रण बाहिर जान लागेपछि प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको हो।

झडपका क्रममा उत्तेजित भीडले एक स्कार्पियो गाडीमा आगजनी समेत गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी विज्ञप्ति अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यू लागू गरिएको छ । उनका अनुसार पूर्वमा मुडबलवा गेट पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय सम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

यो क्षेत्रभित्र अर्को आदेश नहुन्जेलसम्म कुनै पनि प्रकारको सभा, जुलुस, भेला, प्रदर्शन र आवतजावत गर्न पूर्ण निषेध गरिएको छ। स्थितिलाई थप बिग्रन नदिन प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न, अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *