निर्वाचन हुँदैन भन्ने शङ्का हट्यो: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले सुरुवाती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरेपनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताए ।
उनले यो सरकार बनेको ५/६ हप्तासम्म निर्वाचन नहुने हो की भन्ने आशङ्का आम मानिससँगै राजनीति वृत्तमा रहे पनि अहिले हटेर गएको बताए । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रस्ट पारे ।
खनालले भने–‘निर्वाचन हुँदैन भन्ने थियो । जेलबाट भागेका कैदीहरू निस्केका छन् । हतियारहरू बाहिर छन् । पुराना पुस्ताका धेरै शासन सत्ता चलाएका नेताहरूलाई देख्नै चाहँदैनन् । उनीहरूसँग वार्ता नै गर्न चाहँदैनन् । परस्पर संवादको वातावरण नै छैन । यस्तो अवस्थामा यो सरकारले कसरी निर्वाचन गराउन सक्ला भन्ने एउटा ठुलो संशय मुलुक सामु थियो । त्यसलाई अत्यन्तै संयमपूर्वक कुनै प्रतिरोध नगरी त्यो संशयलाई मेटाउन ठुलो चुनौती थियो । त्यो चुनौतीलाई बहन गर्नुपर्छ र त्यसलाई भड्किन नदिन कतिपय पर्यटन क्षेत्रसहित अरू धेरै कामहरू गर्न सकिएन ।’
खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको समेत बताए । उनका अनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको बताए ।


