रामेछापमा दलहरूको प्रचार तीव्र, १७ उम्मेदवारलाई चटारो

No ads found for this position
No ads found for this position

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय बनेका छन् ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा सोमबारदेखि विभिन्न दलका उम्मेदवारहरू जनसम्पर्क, घरदैलो र कोणसभामा व्यस्त देखिएका छन् । दुई नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडामा फैलिएको जिल्लामा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ती मध्ये तीन जना स्वतन्त्र छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्न दलहरूले नीति, योजना र कार्यक्रमसहित उम्मेदवारलाई प्रत्यक्ष जनसम्पर्कमा उतारेका छन् । नेपाली कांग्रेसले सोमबार लिखुतामाकोशी गाउँपालिकाका विभिन्न वडामा चुनावी कार्यक्रम सञ्चालन गरेको छ । पार्टीका प्रचार शाखा प्रमुख हिमाल ढुंगेलका अनुसार उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन तय कार्यतालिकाअनुसार प्रचार अभियान अघि बढाइएको हो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि लिखुतामाकोशी गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म उम्मेदवार माधवप्रसाद ढुंगेलको पक्षमा भेटघाट तथा कोणसभा आयोजना गरेको जनाएको छ ।

एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीका अनुसार वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेल लगायतको उपस्थितिमा अभियान सञ्चालन गरिएको हो । फागुन १८ गतेसम्म जिल्लाका सबै वडामा प्रचार–प्रसार तथा जनसम्पर्क कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापले दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न वडामा घरदैलो, मतदाता भेटघाट तथा सभा गरेको छ । पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठलाई विजयी गराउने उद्देश्यले प्रचारलाई तीव्र बनाइएको हो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिमाली पालिका उमाकुण्ड गाउँपालिकाको अन्तिम मानव बस्ती गुम्देलको ल्हाछ्योरबाट चुनावी सभा तथा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । उम्मेदवार डा. कृष्णहरि बुढाथोकीको पक्षमा जनसमर्थन जुटाउन अभियान जारी छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा श्रम संस्कृति पार्टी लगायत अन्य दलहरू पनि आ–आफ्नो कार्यक्रमसहित प्रचारमा सक्रिय देखिएका छन् ।

दलहरूको चहलपहलसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारीलाई तीव्र पारेको छ । जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार आइतबारदेखि जिल्लाका सबै ६४ वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भइसकेको छ । महिला, अपाङ्गता भएका व्यक्ति, वृद्ध–वृद्धालगायत सबै वर्गका मतदातालाई सही मतदान प्रक्रिया, मतपत्र जाँच, स्वस्तिक छाप प्रयोग गर्ने तरिका तथा बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानीबारे स्वयंसेवकहरूले जानकारी दिइरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचनमा रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । जिल्लाभर ९६ मतदान स्थल र २२८ मतदान केन्द्र तोकिएका छन् । राजनीतिक दलहरूको आक्रामक प्रचार र निर्वाचन प्रशासनको तयारीसँगै रामेछापमा निर्वाचनको माहौल दिनप्रतिदिन तातिँदै गएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *