पुर्व सहकर्मी बीचको भिडन्तले रोचकता कर्णाली प्रदेशमा
सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरु अहिले प्रमूख प्रतिस्पर्धामा छन् ।
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली काँग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालिन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने छ । नेपाली काँग्रेसका बिष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन् ।
नेपाली काँग्रेस सुर्खेतका उपसभापति खड्का र पूर्वउपसभापति सिंहबीच सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा हुँदैछ । त्यस्तै सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व क्षेत्रीय सभापति नारायण कुमार कोइराला र वीरेन्द्रनगर नगर समिति सचिव रमेश सापकोटा प्रतिष्पर्धामा छन् । सिंह र सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका छन् ।
सुर्खेतका दुबै निर्वाचन क्षेत्र काँग्रेसको बलियो पकड भएको मानिन्छ । विगतका निर्वाचनहरुमा एकल चुनाव लड्दा काँग्रेसले निरन्तर जित्दै आएका दुवै निर्वाचन क्षेत्रमा यो पटक उम्मेदवारहरु सबै नयाँ अनुहार छन् ।
क्षेत्र नम्बर १ मा २०४८ साल यताका सबै निर्वाचनमा पुर्णबहादुर खड्का उम्मेदवार बन्दै आएका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा समानुपातिकमा रहेका खड्काले २०७४ सालमा तत्कालिन एमाले-माओवादी गठबन्धनका कारण चुनाव जित्न सकेनन् । खड्का २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचन, २०७० सालको संविधान सभा र २०७९ को आमनिर्वाचनमा निर्वाचित भएका थिएका थिए ।
यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस सुर्खेतका पूर्वउपभापति टेकबहादुर सिंह र वर्तमान उपसभापति बिष्णुबहादुर खड्का चुनाव प्रतिष्पर्धी बनेका छन् । खड्का निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काका सहोदय भाई हुन् । सिंह २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसबाट चुनाव लडेका थिए । त्यत्तिबेला नेकपा एमाले र माओवादी गठबन्धनका कारण प्रतिनिधी सभामा खड्का र प्रदेश सभामा सिंह दुवैले चुनाव जित्न सकेनन् ।
एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको सुर्खेत क्षेत्र नम्बर १ मा पुराना काँग्रेसीहरुको लडाइँले चुनावी परिणाम एमालेको पोल्टामा जाने अनुमान गरिए पनि काँग्रेसको बलियो पकडका कारण पार्टीको भोट प्रभाव नपर्ने काँग्रेसका नेताहरुले बताउने गरेका छन् ।
तेस्रो पटक चुनाव लडेका एमालेका धुव्रकुमार शाही, नेपाली कम्युनिष्ट पार्टीका जितबहादुर राना, राप्रपाका जेनजी उमेर समूहका रविकिरण हमालसहित विभिन्न १३ दलको उम्मेद्वारीका कारण काँग्रेसलाई खासै फरक नपर्ने अनुमान काँग्रेसीहरुको छ ।
सुर्खेतको क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी ६ वटा निर्वाचनमा उम्मेदवार बने ।
२०५६, २०६४ र २०७९ सालमा चुनाव जितेका थानीले अरु चुनावमा हार व्यहोर्नु पर्यो । यो निर्वाचन क्षेत्रमा काँग्रेसका थानी र कर्णालीका मुख्यमन्त्री समेत रहेका एमालेका केन्द्रीय सचिव यामलाल कँडेल सदाबहार प्रतिस्पर्धी थिए । अहिले थानी र कँडेल उम्मेदवार नहुँदा सबै नयाँ अनुहारहरु चुनावी मैदानमा छन् ।
काँग्रेसको पकड रहेको भनिएको यो क्षेत्रमा नेपाली काँग्रेसले पूर्व क्षेत्रीय सभापति नारायणकुमार कोइरालालाई उम्मेदवार बनाएको छ । केही समय अघि रास्वपा प्रवेश गरेका नेपाली काँग्रेस वीरेन्द्रनगर नगर सचिव रमेश सापकोटाले नेपाली काँग्रेसलाई चुनौती दिएका छन् । एमालेका कुलमणी देवकोटा र नेकपाका झकबहादुर मल्ल क्षेत्र नम्बर दुईबाट उम्मेदवार बनेका छन् ।
दैलेखको निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व एमालेका नेताहरु प्रतिष्पर्धामा छन् । २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट झिनो मतान्तरले चुनाव जितेका अमर बहादुर थापा र रविन्द्र शर्मा प्रतिष्पर्धामा छन् । २०७९ सालमा गठबन्धनका उम्मेदवार रहेका थापाले १८ हजार २९७ मत ल्याएर विजयी हुँदा एमालेका रविन्द्र शर्माले १७ हजार ४४५ मत ल्याएका थिए ।
८ सय ५२ मतान्तरले चुनाव जितेका थापा एमाले दैलेखका पूर्व अध्यक्ष हुन् । यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले बासना थापालाई उम्मेदवार बनाएको छ । कालिकोट र रुकुम पश्चिममा तत्कालिन माओवादीका पूर्वसहकर्मीहरु आमनेसामने देखिएका छन् ।
कालिकोटमा खड्कबहादुर विश्वकर्मा र महेन्द्रबहादुर शाही र रुकुम पश्चिममा जनार्दन शर्मा र गोपाल शर्माबीचको प्रतिष्पर्धाले चुनावी माहोललाई रोचक बनाएको छ । शसस्त्र द्धन्द्धका बेला युद्धका योजनाकार मानिएका बि.क र जनार्दनलाई उनकै कार्यकर्ताहरु महेन्द्र र गोपालले चुनौती दिएका छन् ।
२०६४ सालको संविधान सभा निर्वाचन जितेका खड्कबहादुर १८ बर्ष पछि फेरी चुनाव लडेर संसद छिर्ने दाउमा छन् । पहिलेका सहकर्मी बिक र शाही अहिले माओवादीबाट फुटेको विप्लव नेतृत्वको नेकपा र शाही नेकपाबाट उम्मेदवार बनेका छन् ।
०६४ यता निरन्तर माओवादी पृष्ठभुमीको पार्टीले चुनाव जित्दै आएको कालिकोटमा यो पटक परिणाम फरिने अड्कल गरिएको छ । ०७० यता लगातार चौथो पटक चुनाव लडेका शाहीलाई खड्क बिकको चुनौती र पार्टीभित्रकै असन्तुष्टि भारी हुने नेकपाकै नेताहरु बताउँछन् । यी दुई पूर्वसहकर्मीबीचको प्रतिष्पर्धा, नेकपाभित्रैको असन्तुष्टिले हुने अन्तर्घात र लगातार अवसर लिई रहेका महेन्द्र शाहीको धमिलो छवीको फाईदा काँग्रेस र एमालेले लिन सक्ने अनुमान पनि कतिपयको छ ।
शान्ति प्रक्रियापछि लगातार रुकुमबाट चुनाव जित्दै आएका जनार्दन शर्मा आफ्नै कार्यकर्ता गोपाल शर्मासंग प्रतिष्पर्धा गरिरहेका छन् । जर्नादन शर्मा आफै संरक्षक रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट पुराना आफ्नै कार्यकर्ता गोपाल शर्मासंग चुनावी प्रतिष्पर्धामा छन् । तत्कालिन माओवादी केन्द्रमा रहेका दुवै जना यो पटक प्रतिद्धन्दी बनेका हुन् ।
जनार्दन नेकपा मओवादी केन्द्रको उपमहासचिव हुँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका छन् । रुकुम पश्चिममा उनलाई नेकपा एमालेले साथ दिएको छ । गोपाल शर्मा २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य थिए ।


