निर्वाचनलाई निष्पक्ष र विश्वासिलो बनाउन सञ्चार माध्यमको भुमिका महत्वपूर्णः सचिव राउत

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी आवधिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो ढंगले सम्पन्न गर्न सञ्चार माध्यमको भुमिका निर्णायक हुने बताएका छन् ।

आयोगद्वारा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गरी मतदानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । सचिव राउतले सञ्चार माध्यमलाई लोकतन्त्रको ‘कर्नर स्टोन’ र राज्यको चौथो अङ्गको रूपमा उल्लेख गर्दै निर्वाचनका बेला हुने विभिन्न बहस र डिस्कोर्सहरूलाई प्रभाव पार्ने मुख्य माध्यम नै मिडिया भएको बताए ।

उनले मिडियाले प्रवाह गर्ने निष्पक्ष र तटस्थ सूचनाले नै निर्वाचनको वास्तविक विश्वसनीयता कायम गर्ने र मतदातालाई सक्षम बनाउनेमा जोड दिए । नेपालको संवैधानिक र कानूनी व्यवस्थाअनुसार हुन लागेको यस आवधिक निर्वाचनमार्फत सङ्घीय संसदको प्रतिनिधि सभाका लागि १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी कूल २ सय ७५ जनप्रतिनिधिहरू छनौट हुन लागेको जानकारी उनले दिए ।

उनले यस प्रक्रियालाई देशको भावी भाग्य, विकास र समृद्धिको निर्माण गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा चित्रण गरे। निर्वाचनले शासन प्रणालीलाई वैधता प्रदान गर्ने उल्लेख गर्दै सचिव राउतले वर्तमान विशिष्ट परिस्थितिमा रहेका समस्याहरू समाधान गर्न सही प्रतिनिधि छनौट गर्नु अनिवार्य रहेको बताए । आगामी दुई–तीन हप्ताको समय निर्वाचनको तयारीका लागि निकै महत्वपूर्ण रहेको भन्दै उनले आम मानिसलाई सुसूचित गराउन निर्वाचन आयोगले मिडियाबाट ठूलो सहयोगको अपेक्षा राखेको स्पष्ट पारे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *