देश दाैडाहामा रास्वपा नेता, बालेन मधेशमा रवि नवलपरासीमा

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति बेला देश दौडाहामा छन् ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति दुई शीर्ष नेताले विभिन्न क्षेत्रमा पुगेर जनसम्पर्क तथा घण्टी अभिवादन अभियानलाई तीव्र पारेका हुन् ।
यही माघ पहिलो सातादेखि बालेन देश दौडाहामा निस्किएका थिए । उनी पूर्वी जिल्ला हुँदै सुदूरपश्चिम प्रदेशसम्म पुगेर फर्किएका थिए । लामिछाने भने जनकपुरको चुनावी सभामा जाँदा खुट्टामा चोट लागेर ‘इन्फेक्सन’ भएपछि काठमाडौंमा उपचाररत थिए ।

केही दिनको विश्रामपछि लामिछाने माघ २२ गते आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा पुगेका थिए । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले रास्वपाका दुई शीर्ष नेता छुट्टाछुट्टै रूपमा विभिन्न निर्वाचन क्षेत्रमा पुगिरहेका जानकारी दिए ।

“सभापति र वरिष्ठ नेताले जनसम्पर्क कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्नुभएको छ । रुपन्देहीमा सबै निर्वाचन क्षेत्रका कार्यक्रम सकाएर नवलपरासी पुगेका छौँ,” उनले भने ।

मंगलबार (माघ २७)देखि बालेनको मधेस यात्रा सुरु भएको उनका सल्लाहकार कुमार व्यञ्जनकारले जानकारी दिए । पहिलो चरणमा सप्तरी, धनुषा र सिरहाका सबैजसो निर्वाचन क्षेत्रमा बालेन पुग्ने कार्यतालिका रहेको उनले बताए । “अहिले सप्तरी जिल्लाको राजविराज पुगेका छौँ,” उनले भने ।

बालेनले सोमबार (माघ २६) झापा–५ अन्तर्गत कमल गाउँपालिकाकेन्द्रित घरदैलोमा थिए । त्यसपछि उनी मधेस यात्रामा निस्किएका हुन् ।

लामिछाने आफ्नो पुरानै निर्वाचन क्षेत्र चितवन–२ मा उमेदवार बनेका छन् । झापा–५ मा बालेनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उमेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

आचार्यका अनुसार, सम्भव भएसम्म देशका सबै निर्वाचन क्षेत्रमा पुग्ने तयारी छ । “सम्भव भएसम्म देशभरका सबै निर्वाचन क्षेत्रमा दुई शीर्ष नेताहरू पुग्ने भन्ने छ,” उनले भने, “यसबीच सार्वजनिक कार्यक्रम पनि हुन्छन् । पार्टीका बाचापत्रलगायत विषय पनि आउँछन् ।”

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *