सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको छ : संयोजक दाहाल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए ।

पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पारे । उनकाअनुसार जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ । नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भएपनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उनको भनाइ छ ।

दाहालले उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको दाबी गरे । जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको भन्दै उनले कम्युनिष्ट कार्यकर्ताहरूलाई ती भ्रमहरूलाई तर्कद्वारा चिर्न आग्रह गरे । राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको दाहालको तर्क छ । आज सिंगो राष्ट्र यही विचारमा सहमत भएको भन्दै उनले यसलाई पार्टीको बुझाइको जितका रूपमा व्याख्या गरे ।

संयोजक दाहालले आगामी २४–२५ दिन निकै महत्वपूर्ण रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई पूर्ण मेहेनतका साथ चुनावी परिणाम आफ्नो पक्षमा पार्न र पार्टीलाई एक नम्बर बनाउने संकल्प गर्न निर्देशन दिए । उनले चुनौतीपूर्ण अवसरलाई सदुपयोग गर्दै देश जोगाउने र राजनीतिलाई सहजीकरण गर्ने भूमिकामा पार्टी सधैँ अगाडि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *