निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैनः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताए । प्रवक्ता भट्टराईकाअनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् । उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारे ।
उनले भने, ‘आफ्नै खातामा चन्दा उठाउन पाउने वा नपाउने कुरा गर्नुभएको छ । हामीसँग चन्दा ऐन छ । निर्वाचनको लागि, प्रचार प्रसारको लागि आफूलाई शुभेच्छुक, समर्थकबाट सहयोग लिने विषय छन् । निर्वाचन सहयोग लिने विषय छ । त्यसमा उम्मेदवारले, दलले मलाई यति सहयोग दिनुपर्छ, भनेर कसैलाई तोकेर माग्न पाइँदैन, स्वेच्छाले दिन चाहन्छौ भने मेरो खाता नम्बर यो भनेर निर्वाचन प्रयोजनका लागि खोलेको खातामा लिन पाउँछ । त्यसमा उठाएको पैसा निर्वाचन प्रचार प्रसारका लागि छुट्टै खाता खोलिएको कारणले त्यसमा कसैले दिएको सहयोग व्यक्तिगका लागि पैसा उठाएको छैन र दुरुपयोग हुँदैन भन्ने विश्वास गर्नुपर्छ । त्यसको दुरुपयोग गरेको खण्डमा त्यसको सम्बोधन हुने नै छ ।’
निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्यलाई तिब्रता दिएको छ । प्रवक्ता भट्टराईले हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाई भइसकेको जानकारी दिए । छपाई भएका मतपत्रहरूमध्ये ७ हजार १३७ वटा बाकसहरू प्याकिङ भइसकेको आयोगले जनाएको छ । प्रवक्ता भट्टराईकाअनुसार हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाई र प्याकिङ कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ । आयोगले बाँकी जिल्लाहरूको मतपत्र छपाई र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको जनाएको छ ।


