आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने निर्वाचन आयोग भनाई
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ ।
शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताए । भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फस्र्यौट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको बताए ।
आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ । भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ ।
प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा रहेको बताए । जसमा महिला उम्मेदवारको संख्या १ हजार ७७२ र पुरुषको संख्या १ हजार ३६३ रहेको छ । समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको आयोगको तथ्याङ्कले देखाएको छ ।
उनले भने, ‘पछिल्लो चोटी जिल्लामै उजुरी गर्ने र त्यहीँबाटै फस्र्यौट गर्ने दर अलि बढेको छ । त्यसले गर्दा केन्द्रमा आउने क्रम घटेको महशुस गरेका छौँ । अझै सुधारका कामहरु छन् भने हामी सुधार गर्न तयार छौँ । हामीले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई सपष्टीकरण सोधेकोमा २४ बाट ज्वाफ पाइसकेका छौँ । अक्सर हामीलाई सोध्ने प्रश्न भनेको जवाफ लिइसकेपछि पुग्यो भन्ने छ । आचारसंहीता र निर्वाचन कसुर तथा सजाय ऐन हेर्नुभयो जवाफ पाउनुहुन्छ । कस्तोमा कारबाही गर्ने र कस्तोमा नगर्ने भनेको कारणले केन्द्रिय आचारसंहीता अनुगमन समितिले कानूनमा हेरेर थप स्पष्टीकरण, कारबाही गर्नेबारे निर्णय लिन्छ । आचारसंहीता उल्लंघनका घटनामा निर्वाचन आयोगले नजरअन्दाज गरेको छैन ।’
आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र सुधार गर्न आफूहरू सधैँ तयार रहेको प्रतिवद्धता जनाउँदै आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ ।


