खाद्य सुरक्षा र पोषणमा लैङ्गिक समानताका लागि सरोकारवालाको जोड
काठमाडौं । खाद्य सुरक्षा तथा पोषणको सन्दर्भमा लैङ्गिक समानता र महिला तथा बालिकाहरूको सशक्तिकरणका लागि नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनमा जोड दिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
शुक्रवार राजधानीमा एक विशेष छलफलका क्रममा सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) र कमिटी अन वल्र्ड फुड सेक्युरिटी (सीएफएस) को सहकार्यमा आयोजित यस कार्यक्रममा लैङ्गिक आधारित भेदभाव अन्त्य गर्ने, कृषि तथा खाद्य प्रणालीमा महिलाहरूको भूमिका र पहुँच बढाउने तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने उपायहरूबारे सहभागीहरूले व्यापक छलफल गरेका थिए ।
नेपालको कृषि क्षेत्रमा महिलाहरूको ठूलो योगदान रहे पनि स्रोत र साधनमाथिको पहुँचमा अझै ठूलो असमानता रहेको कार्यक्रममा औंल्याइएको छ । तथ्याङ्कअनुसार कृषिमा ७४ प्रतिशतभन्दा बढी महिला श्रमशक्ति संलग्न रहे तापनि जग्गा स्वामित्वमा उनीहरूको हिस्सा निकै न्युन रहेको छ ।
यस्तो असमानतालाई सम्बोधन गर्न नीति, कानून, कार्यक्रम तथा लगानीमा लैङ्गिक समानतालाई मुख्यधार बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । एफएओका नेपालस्थित सहायक प्रतिनिधि अरुण जिसीले खाद्य सुरक्षा र पोषण सुधारका लागि लैङ्गिक समानतातर्फ अग्रगामी कदम चाल्नुपर्ने बताए । उनले छलफलले तय गरेका मार्गनिर्देशनहरूलाई स्थानीय तहसम्म पुर्याउन र कार्यान्वयन गर्न एफएओ प्रतिवद्ध रहेको जानकारी समेत दिए ।


