स्वास्थ्य बीमामा देखिएको समस्याबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः एमाले सांसद दाहाल
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गरेकी छिन् ।
शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले सो माग गरेकी हुन्। अस्पतालहरुमा बजेटको अभाव भन्दै सो कार्यक्रम बन्द भईरहेकाले सरकारले सो सम्बन्धमा के भएको हो भनि संसदमा जानकारी गराउनुपर्ने सांसद दाहालको भनाई थियो । उनले सर्वसाधारणलाई धेरै राहत भएको सो कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताईन् ।
सांसद दाहालले भनिन् ,‘स्वास्थ्य विमाको विषयमा सर्वसाधारण जनताले उपयोग गरिरहेको विषयबस्तु अहिले अस्पतालहरुले सरकारले बजेट नदिएको कारण बन्द गर्नुपरेको भन्ने समाचारहरु बाहिर आइरहेका छन् । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले चासो लिएको भन्ने पनि सुनियो । यसको व्यवस्थापनका लागि के भएको हो, जानकारी गराउन म सरकारसँग माग गर्दछु ।’
प्रधानमन्त्री सुशीला कार्कीले पनि सो सम्बन्धमा चासो दिँदै आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । सांसद दाहालले जनसरोकारका त्यस्ता विषयहरुको व्यवस्थापनमा सरकारले तत्काल निर्णय गर्न आवश्यक रहेको बताईन् ।


