आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधारः कार्यवाहक राष्ट्रपति
काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजातिका समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभुत हुनेगरी कार्यान्वयन गर्नु आजको प्रमुख चुनौती रहेको बताएका छन् ।
बुधवार आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिक उत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको उल्लेख गरे । उनले ती सम्पदाको संरक्षण र संम्वद्र्धन गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
उनले अधिकार कार्यान्वयनका लागि सरोकारवालाबीच सहकार्य र स्पष्ट इच्छाशक्ति आवश्यक रहेको बताउँदै आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस र समन्वयलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । विकासको नाममा आदिवासी जनजातिको संस्कृति, भाषा र जीवनशैली विस्थापित हुन नदिन संवेदनशीलता अपनाउनुपर्नेमा उनको जोड छ । उनले नीति निर्माण, स्रोत–साधनमा पहुँच तथा न्यायपूर्ण विकास प्रक्रियामा आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्न आयोगले सक्रिय पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।

