झापा ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी : उपाध्यक्ष गुरुङ
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साहले काठमाडौंको सुकुम्बासी बस्तीमा, गरिखाने सडकका जनतामाथि डोजर चलाएर बालेन्द्र साहले झापा ५ मा निर्वाचन जित्नै नसक्ने जिकिर गरे ।
उनले बालेनले त्यहाँको सुकुम्वासीहरुलाई लालपूर्जा दिन्छ भन्ने भ्रममा नपर्न पनि झापा ५ का सुकुम्वासी नागरिकहरुलाई अपिल गरे । बालेनको विगत, वर्तमान र भविष्य हेर्ने हो भने पनि उनले सुकुम्वासीलाई लालपूर्जा वितरण गर्दछन् भनेर विश्वास गर्न नसकिने उपाध्यक्ष गुरुङको भनाई थियो ।
उनले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको समेत बताए । उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पनि बताए । उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा जनताले नयाँ अनुहार नभई सुधारसहितको पुरानै राजनीतिक दलहरुलाई चाहेको पनि बताएका थिए ।

